अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् एमाले जिल्ला अधिवेशनमा प्रतिनिधित्व छनौटका मापदण्ड

यी हुन् एमाले जिल्ला अधिवेशनमा प्रतिनिधित्व छनौटका मापदण्ड

कम्तीमा १५ प्रतिशत ४० वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व गर्नुपर्ने


काठमाडौँ–नेकपा एमालेले जिल्ला अधिवेशनमा प्रतिनिधित्वका मापदण्ड तय गरेको छ । एमाले महासचिव शंकर पोखरेलले प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गर्दै जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौटको मापदण्ड तय गर्नुभएको हो । 

एमाले केन्द्रले जिल्ला र प्रदेश कमिटीलाई पठाएको परिपत्र अनुसार जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौटको आधार पालिकाका वडालाई बनाउनु पर्ने छ । यस्तै विशेष कमिटीको हकमा भने शाखा कमिटीलाई बनाउनुपर्ने छ । प्रमाणीकरण गरिएको सदस्यहरूको सूचिका आधारमा प्रतिनिधि छनौटको मापदण्ड बनाई प्रतिनिधि छनौट गर्नुपर्ने परिपत्रमा भनिएको छ । 

एमालेले प्रतिनिधिहरूको संख्या अनुपात र प्रक्रिया समयमै जिल्ला कमिटीले निश्चित गर्नुपर्ने, प्रत्येक वडाबाट तीन जनामा कम्तीमा एक महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, जिल्ला कमिटीमा कम्तीमा १५ प्रतिशत ४० वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व गर्नुपर्ने निर्देशन यसअघि नै दिएको थियो ।  एमाले विधान अनुसार जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरू आयोजकका साथै प्रतिनिधि पनि हुनेछन् । 

‘जिल्ला संगठन कमिटीको हकमा भने कमिटीका पदाधिकारी र सदस्यहरू पनि प्रतिनिधि हुनका लागि पार्टी सदस्यहरूबाट चुनिएर आउनुपर्नेछ । प्रतिनिधि नरहेका सङ्गठन कमिटीका पदाधिकारी र सदस्यहरू आयोजकका रूपमा मात्र अधिवेशनमा सहभागी हुनेछन्’, परिपत्रमा भनिएको छ,’जिल्ला वा पालिका निर्वाचन क्षेत्र बनाई उपयुक्त अनुपातमा दलितलगायत सम्बन्धित जिल्लाको विशेषताअनुसारको समावेशी प्रतिनिधित्व गराउने । त्यसो गर्दा कुनै एक क्लस्टरको मात्र मातदाता र उम्मेदवार हुन पाउने व्यवस्था मिलाउने । एमाले जिल्ला अधिवेशनमा जनसंगठनबाट नियमावलीमा गरिएको वर्गीकरणअनुसार प्रतिनिधित्वको व्यवस्था मिलाउने ।’

यस्तै विधान अनुसार जिल्ला कमिटीले निर्वाचित प्रतिनिधि संख्याको ५ प्रतिशतसम्म प्रतिनिधिहरू मनोनीत गर्न पाउनेछन् । तर सो प्रावधानको उपयोग गर्दा पार्टी प्रवेश लगायतका सम्बोधन गर्नुपर्ने प्रतिनिधित्वमा छुटेका पक्षलाई पनि ध्यान दिनुपर्ने परिपत्रमा भनिएको छ । 

‘प्रतिनिधि हुनका लागि कम्तीमा दुई वर्ष पार्टीको सदस्य भएर काम गरेको हुनुपर्छ । महिला, दलित र युवाको हकमा न्यूनतम एक वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्छ । अन्य पार्टीबाट आएका हकमा पार्टी सदस्यता प्राप्त गरेको हुनुपर्छ । प्रतिनिधि छनौटमा यस्ता प्राविधिक पक्षलाई पनि ख्याल गर्ने’, महासचिव पोखरेलले जारी गर्नुभएको परिपत्रमा भनिएको छ,’जिल्ला अधिवेशनको व्यवस्थापकीय पक्षलाई ध्यानमा राखेर प्रतिनिधित्वको अनुपात निर्धारण गर्ने । तोकिएको आधार संख्याको पचास प्रतिशतभन्दा बढी भएपछि मात्र थप एक संख्या बढ्ने कुरामा स्पष्ट हुने । प्रत्येक तीन जना प्रतिनिधिमा न्युनतम् एक महिला प्रतिनिधि हुनुपर्दछ र थपिने संख्यामा पनि यो प्रावधान लागू हुने कुरामा ध्यान दिने ।’

एमालेले प्रतिनिधिको विवरणसहितको नाम र फोटो अधिवेशन उद्घाटन हुनुभन्दा दुई दिन अगाडि तोकिएको ठाउँमा पुगिसकेको हुनुपर्ने जनाएको छ । बन्दसत्र सुरु हुनुभन्दा अगाडि प्रतिनिधि प्रमाणीकरण गरिसक्नुपर्ने परिपत्रमा उल्लेख छ ।