अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राकम कर्णालीलाई नयाँ सहर हामीले घोषणा गरेका हौं

राकम कर्णालीलाई नयाँ सहर हामीले घोषणा गरेका हौं


आदरणीय राकम कर्णाली निवासी, दैलेख निवासी एवं विभिन्न जिल्ला र विभिन्न स्थानबाट आउनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु हार्दिक अभिवादन नमस्कार !

यस अभियानमा संलग्न रहनु भएका सम्पूर्ण नेतागण, स्थानीय नेता साथीहरु, जनप्रतिनिधि साथीहरु। यो दुर्गम ठाउँमा, जनसंख्या कम भएको ठाउँमा यत्रो विशाल आमसभामा सामेल हुनुभएका विभिन्न पेशा, व्यवसायका दाजुभाइ दिदीबहिनीहरु !

हामीले चारदिन अघि महाकाली नदीको झुलाघाटबाट पूर्वको चिवाभञ्ज्याङसम्मको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको प्रारम्भ गरेर आज कर्णाली प्रदेशको दैलेख जिल्लाको राकममा आइपुगेका छौं। हामी यहाँ आइपुग्दा यहाँहरुले हामीहरु माथि आत्मियता देखाउनु भएको छ, स्नेह देखाउनु भएको छ, सम्मान दिनुभएको छ, माया गर्नु भएको छ र जसरी यहाँहरुले स्वागत गर्नु भएको छ, त्यसका लागि म र मेरो सिंगै टिमको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद भन्न चाहन्छु।

हाम्रो देश बनाउन नसकिने होइन

यहाँहरुको यो उत्साहले हामीलाई पनि उत्साह थपेको छ, आत्मविश्वास थपेको छ। हामी साँच्चै नै समृद्ध नेपाल सुखी नेपाली बनाउन सक्छौं। नेपाली जनता हाम्रो साथमा छ। नेपाली जनता नेकपा एमालेले गरेका कामहरुको मूल्याङ्कन गरेको छ, नेपाली जनताले नेकपा एमालेले लिएका राष्ट्रनिर्माणका नीतिहरुको, राष्ट्र बचाउने नीतिको, राष्ट्रको स्वाभिमान उठाउने नीतिको, राष्ट्रमा सुशासन ल्याउने नीतिको, राष्ट्रमा विकास ल्याउने नीतिको र सिंगै देशको र देशका सम्पूर्ण जनता सुखी होउन् भन्ने नीति नेकपा एमालेले लिएको यहाँहरुले बुझ्नु भएको छ। त्यसका लागि दुर्गम ठाउँहरुको पनि विकास, त्यसका लागि हिमाली भेग, पहाडी भेग, तराई र मधेस, पूर्व–पश्चिम सबै ठाउँको विकास, सबै पेशा र व्यवसाय गर्ने जनताको विकास गर्ने हाम्रा यी नीतिहरु तपाईंहरुले बुझ्नु भएको छ। कृषिको आधुनिकीकरण गर्ने, देशको औधोगिकरण गर्ने र व्यापार, उत्पादन वृद्धि गर्ने र निर्यात गर्ने र व्यापार सन्तुलन बनाउने एमालेका नीतिहरु यहाँहरुले बुझ्नु भएको छ। सारा जनतालाई शिक्षित बनाएर छोड्ने, सारा जनताको स्वास्थ्य निरोगी बनाएर छोड्ने, निरोगी नेपालको परिकल्पना नेकपा एमालेले गरेको छ। त्यस अनुसारका प्रयास नेकपा एमालेले गरेको छ। तसर्थ, कोही पनि बिरामी पर्नै नपाओस्, परिहाल्यो भने औषधि उपचार पाओस्। औषधिको अभावमा कसैले जीवन गुमाउन नपाओस्, नेकपा एमालेको त्यो नीति हो। यस्तो उर्वर देश, यस्तो जीवनमय देश भोकमरीमा पर्ने, गरिबीको चक्रमा पर्ने, यस्तो अवस्था सहन सकिंदैन, यसको अन्त्य गर्नु पर्छ। त्यसका निम्ति हामीले राष्ट्रिय एकता कायम गर्नु पर्दछ। विभिन्न प्रकारका भ्रमहरु फिजाएर, अनेकता ल्याउन सक्छन्। त्यस्ता कुराबाट होस् गर्नु पर्दछ।

अनेकथरी तत्वहरुले अहिलेको लोकतन्त्र भन्दा, यो बाटो बनेको भन्दा, यो पुल बनेको भन्दा, यहाँ अस्पताल बन्न लागेको भन्दा पञ्चायत नै ठीक थियो भन्न सक्छन्। कुनै कारणले छिटो विकास भएन होला। खासगरी अहिलेको गठबन्धन सरकारको कारणले देश विकासले गति लिन सकेन होला। त्यसो भनेर देश बनाउन नसकिने होइन। हाम्रो जस्तो उर्वर देश, जीवनमय देश बनाउन सकिन्छ । यस देशलाई समृद्ध बनाउन सकिन्छ। दुनियाँको एउटा आकर्षण र गन्तव्य बनाउन सकिन्छ। अहिले जस्तो हामीले १०÷२० लाख पर्यटक आए भन्ने होइन, दुनियाँ भरिका मान्छेले एकपटक नेपालको सुन्दरता हेर्न जानु पर्दछ, विकास हेर्न जानु पर्दछ, त्यहाँका खनिज हेर्न जानु पर्दछ, त्यहाँको जलस्रोत हेर्न जानु पर्दछ, त्यहाँका श्रमजीवी मान्छे हेर्न जानु पर्दछ, ती विद्धान्हरुका सन्तान, जो आज पनि विद्धान् छन्, तिनीहरुलाई हेर्न जानु पर्दछ भन्ने अवस्था हामीले बनाउनु पर्दछ । त्यो अवस्था बनाउनका लागि नेकपा एमाले जनताको नेतृत्व गर्न सक्षम छ । नीतिगत हिसाबले, संगठनात्मक हिसाबले र व्यवहारिक हिसाबले सक्षम छ। तसर्थ, आज कोही प्रतिगमनतर्फ फर्किने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्र विरोधी कुरा हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो। आज लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैले बोल्छ भने, सोच्छ भने त्यो नेपाल र नेपालीका हितमा बोलिराखेको र सोचिराखेको छैन। त्यो नेपाल र नेपालीको हित विपरीत सोचिराखेको छ। तसर्थ, आज हामीले यो अभियान किन चलाएका छौं? यो पूर्व–पश्चिम अभियान किन सञ्चालन गरेका छौ ? यसकारण कि यसैगरी तपाईंहरु विभिन्न जिल्लामा भेटौ, तपाईंहरुसँग भेटघाट गरेर पार्टीका सन्देश बताउन सकौ, तपाईंहरुका विचारहरु सुन्न सकौ, तपाईंहरुसँग विभिन्न ढंगले अन्तरक्रिया गर्न सकौं। त्यसैकारण आज बिहान मात्रै हामीले तीन दिनको यात्रा गरेर सुदूरपश्चिम प्रदेशको अभियान अत्यन्तै उत्साहका साथ सम्पन्न ग¥यौ । त्यहाँका प्राध्यापक, शिक्षक, कर्मचारी, प्रहरी, बुद्धिजीवी लगायत मजदुर किसान, चिकित्सक, नर्सहरु सबैसँग हामीले परामर्श ग¥यौ, त्यहाँका समस्या बुझ्यौ र त्यहाँ कस्ता सम्भावना छन्, त्यो बुझ्यौ। त्यहाँको संस्कृति, त्यहाँका ऐतिहासिक महत्वका स्थलहरु, विभिन्न पवित्र धार्मिक स्थलहरुको भ्रमण र अवलोकन पनि ग¥यौ। यसरी हामीले त्यहाँको विकासका लागि के गर्नु पर्ने रहेछ, त्यसको अझ गहिरो बुझाइ हासिल गरेका छौं। अघि केही समय अगाडि हामी कर्णाली प्रदेश प्रवेश ग¥यौ र यहाँहरुसँगको भेटघाट प्रारम्भ ग¥यौ। हामी अब कर्णाली प्रदेशमा दुई दिन रहने छौ र त्यसपछि अर्को प्रदेशमा जाने छौं।

गठबन्धन सरकार भएसम्म नयाँ सहरको काम हुँदैन
म यहाँहरुलाई आग्रह गर्न चाहन्छु, यहाँहरुलाई थाहा छ, नेकपा एमालेको सरकार भएको बेला के भएको थियो ? कसरी काम गरेको थियो ? त्यो कुरा यहाँहरुलाई थाहा छ, त्यो देख्नु भएको छ। यस ठाउँमा हामीले अस्पताल बनाउने भनेका थियौ, अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शाखाको रुपमा, विस्तारित अस्पतालको रुपमा यहीं ठाउँमा अस्पताल खुल्ने जमिन प्राप्त भएको छ। अस्पताल खोल्नका लागि यहाँका जनता धनी भएका कारणले होइन, तर अस्पताल खोल्नका लागि ४२ रोपनी जमिन जो तपाईंहरुले दान गर्नु भएको छ, त्यसका लागि म तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु। तपाईंहरुले जमिन उपलब्ध गराएर अस्पताल खोल्न सम्भव बनाउनु भएको छ। त्यो जमिन मैले पनि हेरें। वास्तवमा ४२ रोपनी जमिन लगभग अस्पताललाई पुग्ने खालको छ। त्यो जमिन यहाँहरुले उपलब्ध गराएर यस ठाउँमा १ सय शैयाको अस्पाताल खोल्ने जुन कुरा गरिएको थियो। त्यसलाई साकार पार्ने काम हुन्। अब हामीले यसभन्दा अगाडि हाम्रो समयमा हामीले अस्पताल खोल्ने भनेर भनेका थियौं। यस राकम कर्णालीलाई हामीले नयाँ शहरका रुपमा विकास गर्ने घोषणा गरेका थियौ, कार्यक्रममा पारेका थियौ र त्यस अनुसार काम भइरहेको थियो। हामी सरकारबाट हट्यौ, त्यो कुरा अहिलेको गठबन्धन सरकारले बुझ्दैन। त्यसकारण गठबन्धन सरकार रहेसम्म त्यो नयाँ शहरको काम बन्छ जस्तो मलाई लाग्दैन। यो पवित्र नदीको किनार, कसैकसैले यो रावणले नुहाएको नदी अपवित्र नदी भन्ने हल्ला चलाउँछन्। राक्षस तालबाट सुरु भएको नदी भनेर हल्ला चलाउँछन्। त्यस्तो होइन। यस नदीमा रावणले पनि नुहाएको छ, पाप पखालेको छ। रावणले नुहाएर अशुद्ध भएको होइन, रावणले नुहाएर उनको अशुद्धतालाई यो नदीले शुद्ध बनाएको छ। यो मानसरोवर तालसँगैबाट यसको उद्गम भएको छ। यसको उद्गम भएको ठाउँ मैले पनि हेरेको छु। यसले कर्णाली प्रदेश हुँदै गएर हाम्रा तराईका भूभागहरु बर्दिया, कैलाली सिंचित भएका छन्। यस पवित्र नदीका किनारमा अनेक तिर्थस्थलहरु छन्। यसका छेउछाउमा अनेक तिर्थस्थलहरु छन्। यस पवित्रस्थलमा अवश्यनै अस्पताल खुल्ने छ, क्याम्पसहरु खुल्ने छन्, विद्यालयहरु खुल्ने छन् । यहाँ राम्रा बाटा खुल्ने छन्, स्मार्ट कलेज खुल्ने छन्, खानेपानीको राम्रो प्रबन्ध हुनेछ। बिजुलीको राम्रो प्रबन्ध हुनेछ। त्यो सबै भइसकेपछि यो ठाउँको विकास हुन्छ। यहाँ पर्यटन, कृषि र उद्योग तीनवटा चिजको संगम बनाइन्छ, नमुना बनाइन्छ । यो कुरा म अवगत गराउन चाहन्छु। यस ठाउँका समस्या धेरै ठूला समस्या छैनन्, केही समस्या हुन् । जो देश भरिका समस्या हुन्, देश भरिकै समस्या मानेर समाधान गर्न सकिन्छ । केही समय अगाडिसम्म यो ठाउँ विल्कूलै उपेक्षित थियो। जब यो ठाउँमा बाटो खुल्यो, बल्ल यो ठाउँ सुगम पनि भयो र महत्वको पनि भयो। एमालेको साढे तीन वर्षको सरकारले यस ठाउँलाई नयाँ शहर बनाउने भनेर घोषणा गरेपछि यो ठाउँको महत्व बेग्लै ढंगले बढ्यो। यो ठाउँको अब विकास सुनिश्चित भएको छ, त्यसलाई सार्थक रुप दिन नेकपा एमाले चाहिन्छ। अहिलेको सरकारले विकास गर्न सकेन। एमाले सरकारबाट षडयन्त्रपूर्वक रुपमा बलजफ्ती रुपमा हटाइयो। एमाले हटाएको अवधिमा राजनीतिक रुपमा देशमा अस्थिरता आयो, अराजकता छायो, अनेक प्रकारका खरावीहरु छाए, अर्थतन्त्र चौपट भयो, गरिबी बढ्यो, महंगी बढ्यो, युवाहरु विदेशिनु पर्ने, रोजगारी नपाउने अवस्था बन्यो। एमाले सरकारमा छंदा गरिबी घटेको थियो, रोजगारी बढेको थियो। युवा बाहिर जाने क्रम घटेको थियो । त्यसो भएर फेरि पनि विकास गर्न एमाले चाहिन्छ। त्यो विकास कसरी गर्ने, त्यो विकासबाट समृद्ध नेपाल र सुखी नेपालीमा कसरी पुग्ने त्यस कुराका लागि राजनीतिक योजना, सांगठनिक योजना र अरु योजनाहरु ती कसरी गर्ने ? विभिन्न क्षेत्रका सुधारहरु, प्रशासन कस्तो छ ? प्रहरीले कसरी काम गरिराखेको छ ? अरु निकायहरुले कसरी काम गर्दैछन् ? मन्त्रालयका शाखाहरु कसरी काम गर्दै छन् ? जनतालाई के हुँदैछ ? लोकतान्त्रिक व्यवहार भइराखेको छ कि छैन ? ती सबै कुरा बुझ्न हामी यो अभियानमा हिंडेका छौं। जनतालाई सेवा दिनु पर्ने कुरा सरकारी कर्मचारीले दिएका छन् कि छैनन् ? त्यो पनि हेरिराखेका छौं। कर्मचारीलाई असुविधा र समस्या के छ ? प्रहरीका समस्या के छन् ? सेनाका समस्या के छन् ? सशस्त्र प्रहरीका समस्या के छन् ? शिक्षकका समस्या के छन् ? विद्यार्थीका समस्या के छन् ? ती कुरा हेरिराखेका छौं। विद्यालयहरुको अवस्था, अस्पतालहरुको अवस्था कस्तो छ ? त्यो पनि हेरिराखेका छौं। यिनै कामहरुको राम्ररी स्थलगत अध्ययन गरेर, यहाँहरुसँग भेटघाट गरेर, यहाँहरुसँग रायसुझाव लिएर अब आगामी दिनमा देशलाई एमालेले कसरी नेतृत्व गर्ने, त्यसको योजना बनाउनका लागि अहिले हामी यो अभियानमा छौं।

अब चार वर्षपछि हुने निर्वाचनमा नेकपा एमालेको एकल बहुमत ल्याउनु पर्छ भनेर उद्घोष गरेका छौं। यदि नेकपा एमालेको एकल सरकार बन्दैन, एकल बहुमतको सरकार बन्दैन भने देश बर्बाद हुन्छ। देशको राष्ट्रियता कमजोर हुन्छ, सार्वभौमसत्ता कमजोर हुन्छ। यसको स्वाधीनता अर्थहीन भएर गइराखेको छ, त्यो झन कमजोर हुन्छ। स्वतन्त्रता कमजोर हुन्छ। भूमि चुडिन बेर लाउँदैन, भूमि झन खोसिने सम्भावना हुन्छ, मिचिने सम्भावना हुन्छ। विकास ठप्प भइराखेको छ, झन ओरालो लाग्छ। सुशासन होइन, कुशासन भइराखेको छ। भ्रष्टाचार, कमिशनतन्त्र, तस्करी, घुस्या प्रवृत्ति बढिराखेको छ। त्यो अझै बढ्दै जानेछ। त्यसकारण यो सबै रोक्नका लागि, देशलाई विकासको बाटोमा अगाडि बढाउनका लागि नेकपा एमालेको बहुमतको सरकार, एकल बहुमतको सरकार चाहिन्छ। अनि मात्रै देश बचाउन सकिन्छ, अगाडि बढाउन सकिन्छ। सुशासन ल्याउन सकिन्छ र विकास गर्न सकिन्छ। यसैप्रति जनताको अभिरुचि जागोस्, जनताको अभिप्राय के रहेछ, त्यो हामी पनि बुझौ, यसका निम्ति हामीले यो अभियान चलाएका छौं। हामीले सुरु गरेको यी चार दिनमा मैले देखें, नेपाली जनता वास्तवमा अहिलेको गठबन्धन सरकारबाट वाक्क र दिक्क भइसकेका छन्। नेकपा एमालेको सरकार कहिले बन्छ भनेर प्रतिक्षा गरिराखेका छन्। म तपाईंहरुलाई भन्न चाहन्छु, ढिलो चाडो जहिले एमालेको सरकार बनोस्, त्यसले देशका निम्ति काम गर्नेछ, जनताका निम्ति काम गर्नेछ, जनताको भलाइका निम्ति काम गर्नेछ, जनताका छोराछोरी पढाउनका लागि काम गर्छ, जनताको स्वास्थ्य राम्रो बनाउनका लागि काम गर्नेछ, गरिबी हटाउनका लागि काम गर्नेछ, रोजगारीका अवसर सिर्जना गर्नका लागि, उत्पादन र उत्पादकत्व बढाउनका लागि काम गर्नेछ। त्यसकारण समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि काम गर्नेछ । यसर्थ यहाँहरुलाई ढुक्क भएर आत्मविश्वासका साथ अगाडि बढ्न म आग्रह गर्न चाहन्छु। अनेक तत्वले हामीलाई विभाजित गर्न सक्छन्। हरेक प्रकारका भ्रमहरु फिजाउन सक्छन्। अनेक प्रकारका अफवाहहरु फैलाउन सक्छन्। जातजातका बीचमा, भाषाभाषिका बीचमा, भूगोल भूगोलका बीचमा, विभिन्न धार्मिक समुदायहरुका बीचमा अन्तरविरोध, झगडा, वैमनश्यता फैलाउन सक्छन्। त्यस्ता कुराहरुसँग हामी होसियार हुनुपर्दछ। हामी नेपाली हौ, हामी एकजुट छौं। एकजुट भएर नेपाल गरिब छ, यसलाई धनी बनाउँछौ। अब गरिब नेपाल सहन सकिँदैन। अब हामीले गरिब नेपाललाई धनी नेपाल बनाउँछौं। अब नेपाली जनता गरिब हुनु पर्ने कारण छैन। अब हामी गरिब नेपाली जनतालाई धनी बनाउने बाटो लिन्छौं। यही संकल्पका लागि हामी महाकालीको शिर झुलाघाटबाट–पाँचथरको पल्लो छेउ चिवाभञ्ज्याङको डाँडासम्म पुगेर हामी यो यात्रा पूरा गर्छौ । पश्चिमा राष्ट्रिय झण्डा गाडेर सुरु गरेको अभियान पूर्वमा त्यसैगरी झण्डा गाडेर यस अभियानको अन्त्य गर्नेछौं। यस अभियानमा यहाँहरुको उत्साह, यहाँहरुको जाँगर, यहाँहरुको जोश र यहाँहरुको आत्मविश्वास देखेर हामीलाई समेत उत्साह मिलेको छ। म यहाँहरु सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु।

नेकपा एमालेले कसरी काम गर्छ भन्ने कुरा तपाईंहरुले पहिलेदेखि अहिलेसम्मका काम देख्नु भएको छ। खासगरी मेरो प्रधानमन्त्री कालमा भएका विकास निर्माणका देशभरी भएका कामहरु देख्नु भएको छ, नीतिहरु देख्नु भएको छ। अहिले नेकपा एमालेले अगाडि सारेका नीतिहरु देख्नु भएको छ। नेकपा एमालेको उत्साह देख्नु भएको छ। त्यसकारण मैले धेरै केही भनिरहनु पर्ला जस्तो लाग्दैन। यहाँहरु सबैमा धेरैधेरै आभार व्यक्त गर्दै, धन्यवाद भन्दै यहाँहरु सबैमा शुभकामना भन्दै आफ्नो भनाई टुंग्याउँछु। धन्यवाद !

(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राका क्रममा २०८० मंसीर १७ गते राकम कर्णाली, दैलेख आयोजित कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश)