अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा पुगिसक्यो मतपत्र

राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा पुगिसक्यो मतपत्र


काठमाडौं-निर्वाचन आयोगले माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक मतपत्र छापेर सातवटै प्रदेशहरूमा पुर्‍याएको छ।

निर्वाचन आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्डबमोजिमका मतपत्र छपाई सकेर सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा मतपत्र छापिएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले बताउनु भयो । उहाँका अनुसार ३८ प्रकारका जम्मा ६९१० मतपत्र छपाई गरिएको छ।

आयोगका अनुसार कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र रहेका छन् । आगामी फागुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते सम्बन्धित प्रदेशका तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमा विहान नौ बजेदेखि दिउसो तीन बजेसम्म मतदान हुनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ।

जसअनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरु छापिएका छन्।

फाल्गुन २० देखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्य पदको लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ। मतदान सम्वन्धित प्रदेशका तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरुमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्मका लागि तोकिएको छ।

 यस निर्वाचनबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्यहरुको पदावधि २०८० फाल्गुन २१ देखि ६ वर्षसम्म रहने आयोगले जनाएको छ।