अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकका माग दराजमा नथन्क्याउन प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको आग्रह 

नागरिकका माग दराजमा नथन्क्याउन प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको आग्रह 


काठमाडौँ-नेकपा एमालले मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा प्राप्त भएका जनताका माग र समस्या सम्बोधन गर्न सरकारसँग माग गरेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नागरिकले राखेका माग समेटेर ज्ञापन पत्र बुझाएको हो । पार्टी अध्यक्ष ओलीले नागरिकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । 

मध्यपहाडको १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७ सय ५१ वटा माग प्रधानमन्त्रीलाई बुझाएको एमाले अध्यक्ष ओलीले जानकारी दिनुभयो । ‘जसमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषय छन्’, ज्ञापनपत्र बुझाएपछि सामाजिक सञ्जाल फेसबुकमा एमाले अध्यक्ष ओलीले लेख्नु भएको छ । 

ओलीले नागरिकबाट आएका मागलाई सरकारको नीति तथा कार्यक्रम समावेश गरी कार्यान्वयन गर्न माग गरेको बताउनुभएको छ । ‘मैले प्रधानमन्त्रीलाई यी माग दराजमा थन्क्याएर नराख्नुहोला भनेको छु,  प्रधानमन्त्रीले सरकारको नीति कार्यक्रम र बजेटमा यी विषयलाई जति सक्दो समावेश गर्ने वाचा गर्नु भएको छ, यी माग पूरा गर्न निरन्तर फलोअप गर्न हामीले पूर्वअर्थमन्त्री तथा हाम्रो पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिएका छौँ’, ओलीले लेख्नु भएको छ ।

अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकाङ्क्षा र सम्भावना बुझ्न महत्त्वपूर्ण योगदान पुगेको बताउँदै ध्यानाकर्षणपत्र सम्बोधनमा सहयोगका लागि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।