अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बाढी-पहिरो अपडेट: मृत्तकको संख्या ८७ पुग्यो, ७२ जना बेपत्ता

बाढी-पहिरो अपडेट: मृत्तकको संख्या ८७ पुग्यो, ७२ जना बेपत्ता


काठमाडौँ-पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ।

यसअघि ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको हो।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको राससलाई जानकारी दिनुभयो। अरु ३६ जना घाइते भएका छन्।

उहाँका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको हो।

ललितपुरः १२ असोजः दुई दिनको अविरल वर्षाका कारण ललितपुर महानगरपालिकाको नख्खु दोभानस्थित बागमती करिडोर क्षेत्रमा जलमग्न अवस्था । तस्बिरः हरि परियार÷रासस

बेपत्ता हुनेमा कोशीमा नौ, मधेश प्रदेशमा एक , काठमाडौँ उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन्।

उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ। त्यसपछि मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर कूल ८७ जनाको मृत्यु भएको  प्रहरीले जनाएको छ।

यस्तै उपत्यकापछि सबैभन्दा बढी काभ्रेमै २६ जना बेपत्ता छन्। यस्तै पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन्। त्यसैगरी प्रहरीका अनुसार कोशीबाट ८५३, मधेश प्रदेशबाट ५६, उपत्यकाबाट १ हजार ४५७, बागमतीबाट ४९४ जनाको उद्धार गरिएको छ।