अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाका रिक्त १९ पदका लागि आज मतदान, नतिजा पनि आजै

राष्ट्रियसभाका रिक्त १९ पदका लागि आज मतदान, नतिजा पनि आजै

को–को छन् चुनावी प्रतिस्पर्धामा, ४ हजार २९ जना सुरक्षाकर्मी परिचालन


काठमाडौँ– राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आज मतदान हुँदै छ । २०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिन लाग्दा अर्को छ वर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको छ । अर्का एक जना मनोनीत हुने छन् । 

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । 

नेकपा (एमाले) को सबै १९ पदमा उम्मेदवार छन् । नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र)का छ, नेकपा (एकीकृत समाजवादी)का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सात र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का चार जना उम्मेदवार छन् । 

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनबमोजिम प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सम्मिलित निर्वाचक मण्डलले राष्ट्रिय सभा सदस्य निर्वाचित गर्ने छ । प्रदेश सभा सदस्यतर्फ ५४९ मतदाता छन् । पालिकातर्फ एक हजार ४९८ मतदाता छन् । यसरी राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुल दुई हजार ४७ जना मतदाताले १९ सदस्यलाई निर्वाचित गर्ने छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको छ । 

नतिजा आजै

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सम्पन्न भएपछि आजनै मतगणना सुरु हुने जानकारी दिनुभयो । उहाँले आज अबेर रातिसम्म मतपरिणाम आउने गरी गणना गर्ने तयारी गरिएको बताउनुभयो ।  

प्रदेशमा सम्बन्धित समूहतर्फ सबैभन्दा बढी मतभार ल्याउने उम्मेदवार निर्वाचित हुने छ ।  

मतदाता र मतभार कति ?
निर्वाचनमा प्रदेश सभाका पाँच सय ४९ सांसद र एक हजार चार सय ९८ पालिका प्रमुख–उपप्रमुखले मतदान गर्दै छन् । निर्वाचन आयोगले एक प्रदेश सांसदबराबर ५३ र पालिकाको एक जनप्रतिनिधिबराबर १९ मतभार कायम गरेको छ । आयोगको तथ्यांकअनुसार निर्वाचनमा कुल मतभार ५७ हजार पाँच सय ५९ छ । तर, मृत्यु भएर पद रिक्त भएका तथा निलम्बनका कारण मतदानमा सहभागी हुन नसक्ने एक प्रदेश सांसद र आठ पालिकाका जनप्रतिनिधि मतदाता छैनन् ।

को–को छन् चुनावी प्रतिस्पर्धामा

राष्ट्रियसभा  सदस्यका लागि सातै प्रदेशबाट ५० जना चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् । कोशीमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ । 

सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग एमालेकी रुक्मिणी कोइराला भिड्दै छन् । यस्तै मधेस प्रदेशमा राष्ट्रियसभाका २ सिटका लागि ५ जना चुनावी मैदानमा छन् । गठबन्धनबाट अन्यतर्फ कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपाकी पूजा चौधरी उम्मेदवार छन् ।

गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरीविरुद्ध एमालेले अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनी मैदानमा पठाएको छ । यता सत्ता गठबन्धनमा रहेका जनमत पार्टीले पनि अन्यतर्फ रामशंकर महासेठ प्रतिस्पर्धामा उतारेको छ ।

मधेस प्रदेशको अन्यतर्फ ढुंगाना, झा र महासेठबिच भिडन्त हुने छ भने महिलातर्फ चौधरी र थारुनीबिच प्रतिस्पर्धा हुने छ ।

यस्तै बागमती प्रदेशमाका ४ सिटका लागि १५ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपांङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका  घनश्याम रिजाल भिड्दै छन् ।

एमालेले महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपांङ्गतातर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटालाई चुनावी मैदानमा खडा गरेको छ । यता राप्रपाबाट बागमती प्रदेशमा अन्यतर्फ हेम्जङम गुरुङ, महिलातर्फ बालिका डल्लाकोटी र अपाङगतर्फ भरतमणि भट्टको उम्मेदवारी छ भने नेमकिपाले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगिता नेपाली, अपांङ्गतातर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।

अन्यतर्फ  बस्नेत, देवकोटा, गुरुङ महर्जनबिच प्रतिस्पर्धा हुने छ भने महिलातर्फ पुडासैनी, चौलागाईं, डल्लाकोटी र  दुवालबिच भिडन्त हुने छ । यस्तै दलिततर्फ रिजाल, विक र  नेपालीबिच प्रतिस्पर्धा पक्का भएको हो भने अपाङगतर्फ  अधिकारी, पौडेल, भट्ट र मूल भिड्ने छन् ।

गण्डकी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गतातर्फ पदम परियार चुनावी प्रतिस्पर्धामा छन् भने महिलातर्फ माओवादीकी मनरुपा शर्मा सुवेदीले मैदानमा पठाएको छ । एमालेबाट महिलातर्फ सम्झना देवकोटा, अन्यतर्फ चक्रबहादुर पराजुली र अपाङ्गतर्फ हेमन्त शेरचना चुनावी मैदानमा छन् भने राप्रपाले पनि अन्यतर्फ रोमबहादुर भण्डारी र महिलातर्फ गोममाया श्रेष्ठलाई अगाडि सारेको छ । अन्यतर्फ श्रेष्ठ, पराजुली र भण्डारीको प्रतिस्पर्धा हुने छ भने महिलातर्फ सुवेदी, देवकोटा र श्रेष्ठ भिड्ने छन् । अपाङगतर्फ परियार र शेरचनाबिच प्रतिस्पर्धा हुने छ ।

लुम्बिनी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ माओवादीका झक्कु सुवेदी र महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा चुनावी प्रतिस्पर्धामा छन् । एमालेका उम्मेदवारबाट महिलातर्फ तुलसा कुमारी केसी र अन्यतर्फ झपेन्द्रबहादुर घर्ती क्षेत्रीको उम्मेदवारी परेको छ । राप्रपाले महिलातर्फ विजयलक्ष्मी सिंहलाई मैदानमा पठाउँदा जनमत पार्टीबाट बालगोविन्द चौधरी पनि प्रतिस्पर्धामा छन् ।

अन्यतर्फ सुवेदी, घर्ती, थापा र चौधरी गरी चार जना भिड्दैछन् भने महिलातर्फ सापकोटा, सिंह र केसीबिच प्रतिस्पर्धा हुने छ ।

यस्तै कर्णाली प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया,  दलीततर्फ माओवादीका विष्णुबहादुर विश्वकर्मा र महिलातर्फ एकीकृत समाजवादीका सावित्री मल्ल चुनावी मैदानमा छन् ।

यता एमालेबाट महिलातर्फ विमलाकुमारी शाही, अन्यतर्फ डिल्लीप्रसाद भट्ट र दलिततर्फ हिक्मत विक उम्मेदवार छन् । अन्यतर्फ रोकाय र भट्टको प्रतिस्पर्धा हुने छ भने दलीतर्फ विश्वकर्मा र विकबिच भिडन्त हुने छ । महिलातर्फ मल्ल र शाही भिड्ने छन् ।

सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका बलदेव बोहोरा र अपाङ्गतर्फ नारायणदत्त भट्ट उम्मेदवार छन् भने महिलातर्फ माओवादीकी रेणु चन्द चुनावी मैदानमा छन् । यस्तै एमालेबाट महिलातर्फ सावित्रा घिमिरे, अपाङ्गतातर्फ रामचन्द्र जोशी र अन्यतर्फ ईश्वरीप्रसाद खरेलले उम्मेदवार छन् ।

अन्यतर्फ बोहोरा र खरेल भिड्दा महिलातर्फ चन्द र घिमिरेबिच प्रतिस्पर्धा हुने छ । यस्तै अपाङ्गतर्फ भट्ट र जोशी भिड्ने छन् । भोलि हुने निर्वाचनमा ५० जना उम्मेदवारको भाग्य परीक्षा २ हजार ४७ मतदाताको हातमा छ ।

४ हजार २९ जना सुरक्षाकर्मी परिचालन

नेपाल प्रहरीका अनुसार राष्ट्रियसभा निर्वाचनको सुरक्षाका लागि ४ हजार २९ जना प्रहरी अटाइएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा र सबैभन्दा कम लुम्बिनी प्रदेशमा सुरक्षाकर्मी खटाइएको छ ।

कोशी प्रदेशमा ३ सय ८, मधेस प्रदेशमा २ हजार ८ सय ७३, बागमती प्रदेशमा २ सय ७३, गण्डकी प्रदेशमा १ सय ५४, लुम्बिनी १ सय १८, कर्णाली प्रदेशमा १ सय २८ र सुदूरपश्चिम प्रदेशमा १ सय ६८ जना सुरक्षाकर्मी खटाइएको छ । केन्द्रमा एक सय जना सुरक्षाकर्मी तैनाथ अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।