अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताको रोजाइको पहिलो पार्टी एमाले मात्रै हो: शंकर पोखरेल

जनताको रोजाइको पहिलो पार्टी एमाले मात्रै हो: शंकर पोखरेल


म्याग्दी-नेकपा एमालेमा महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पहिलो पार्टी भएको बताउनुभएको छ। 

नेकपा एमाले म्याग्दीको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पोखरेलले गएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले जनमतको हिसाबले पहिलो मत ल्याएको उहाँले बताउनुभयो। ‘यस आधारमा नेकपा एमाले जनताको रोजाइको पहिलो पार्टी हो भन्न सकिन्छ, पोखरेलले भन्नुभयो। 

अहिले सरकारले नागरिकमा निराशा बढाउने काम गरेको पोखरेलले बताउनुभयो। जनतामा लोकतन्त्र र परिवर्तन प्रतिको निराशा जुन प्रकारले बढेको छ त्यसको कारण जनमत प्राप्त पार्टीलाई सरकारमा जान नदिनु भएको उहाँले बताउनुभयो । 

देशको स्वाधीनता, स्वाभिमान र रक्षको मामलामा इतिहासकै नालायक र कमजोर सरकारको रूपमा अहिलेको सरकार रहेको पोखरेलले बताउनुभयो। ‘कुनै एउटामा होइन, हरेक मामिलामा यो सरकार असक्षम र असफल साबित भएको छ’, उहाँले भन्नुभयो। 

केपी ओली नेतृत्वको सरकारले हरेक मामिलामा अग्रगामी भूमिका निर्वाह गरेको उहाँले दाबी गर्नुभयो। विकास र समृद्धिको काम केपी ओलीको पालामा अग्रगामी हिसाबले अघि बढेको उहाँले बताउनुभयो। एमाले सरकारको पालमा कयौँ राष्ट्रिय गौरवका आयोजना अघि बढेका उहाँले सुनाउनुभयो। अन्तराष्ट्रिय फोरममा समेत नेपालको प्रधानमन्त्रीले के बोल्छ भनेर सुन्ने वातावरण एमालेको पालामा बनेको उहाँले प्रष्ट पार्नुभयो। 

अहिलेका प्रधानमन्त्री आफैँ छिमेकीको लागि हामी कमम्फरटेवल हुन्छौँ भन्दै हिँड्नुभएको भन्दै पोखरेलले आलोचना गर्नुभयो ।  ‘जनताको लागि होइन, विदेशीका लागि कम्फरटेवल’, पोखरेलले भन्नुभयो । 

नेकपा एमाले सरकारमा नहुँदा मुलुक कमजोर हुँदो रहेछ भन्ने कुरा प्रमाणित भएको उहाँले बताउनुभयो । मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको लागि वर्तमान सरकार अभिशाप साबित भएको उहाँले टिप्पणी गर्नुभयो । 

सरकारको विकास निर्माणको काममा कुनै तत्परता नदेखिएको भन्दै उहाँले आलोचना गर्नुभयो । उल्टो एमालेको पालामा सुरु भएको राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजनाको वर्तमान सरकारले बजेट कटौतीको काम गरेको उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन अनेक क्षेत्रका बजेट गठबन्धन सरकारले कटौली गरेको पोखरेलले बताउनुभयो । 

गठबन्धन सरकार जनताको सरकार नभएर भ्रष्ट, दलाल र तस्करहरूको सरकार भएको उहाँले बताउनुभयो । केही दुई नम्बरी काम गर्ने व्यक्तिहरू सरकारको नजिक पुगेर मालामाल भएका उहाँको टिप्पणी छ । सरकारले अवैध अर्थतन्त्रको विकास गरेर देशमा व्यवसायको वातावरण बिगारेको उहाँको भनाइ छ । 

सरकारको तर्फबाट भएका सबै कमजोरी लुकाउन त्यसमा एमालेलाई जोड्ने प्रयत्न पटक पटक गरिएका भए पनि त्यो असम्भव भएको उहाँले बताउनुभयो । एमाले सरकारमा नै नभएको बेलमा पनि एमाले माथि प्रहारको निशाना सोझ्याउने काम भएको भन्दै पोखरेलले आपत्ति जनाउनुभयो । 

देशको अहिलेको सङ्कटको कारण नै गठबन्धन सरकार भएको उहाँले दाबी गर्नुभयो । गठबन्धनले मुलुकका कुनै पनि समस्या समाधान गर्न सक्दैन भनेर एमालेले पहिला नै भनेको कुरा प्रमाणित भएको उहाँले बताउनुभयो । ‘आज गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा पुगेको छ’, उहाँले भन्नुभयो । 

जनताका बिचमा जाने, जनताका गुनासा सुन्न र पार्टीलाई जनतासँग जोड्न एमालेले मिसन ग्रास रुट चलाएको उहाँले बताउनुभयो । जनताको बिचमा पुगेर समस्या बुझ्ने र तिनै समस्या समाधान गर्ने हिसाबले सो अभियान सञ्चालन गरेको र त्यहीबाट आएका सुझावलाई लिएर अहिले एमाले अघि बढेको उहाँले प्रष्ट पार्नुभयो । 

मिसन ग्रास रुटकै सुझावलाई लिएर एमालेले सञ्चालन गरेको समृद्धिका लागि सङ्कल्प यात्राले जनतालाई अर्को आशा जगाउने काम गरेको उहाँले बताउनुभयो । व्यवस्था विरुद्ध भ्रम फिँजाउने, जातीय विभाजन ल्याउने, देशमा अस्थिरता ल्याउन खोज्ने र जनतालाई निराश बनाउन खोज्नलाई एमालेको सो यात्राले निराश बनाइदिएको उहाँले बताउनुभयो । यात्राको क्रममा नेपालमा केपी ओली जस्तो नेता कोही छैन भन्ने कुरा मात्र प्रमाणित गरेको नभई राष्ट्रलाई जोड्ने पार्टी एमाले मात्र हो भन्ने कुरा पनि पुष्टि गरेको पोखरेलले बताउनुभयो । 

यात्राको क्रममा नागरिकबाट प्राप्त सुझावलाई एकत्रित गरी एमालेले सरकारलाई बुझाएको उहाँले बताउनुभयो । तर यो सरकारले जनताका मागलाई सम्बोधन गर्छ भन्ने विश्वास एमालेलाई नभएको पोखरेलले प्रष्ट पार्नुभयो । त्यसैले जनताका माग सम्बोधन गर्न एमाले नै बहुमत सहित सरकारमा जान आवश्यक रहेको उहाँको भनाई छ । 

मध्यपहाडलाई नेपाको समृद्धिको आधारस्थम्भ तयार पार्न सकिन्छ भन्ने कुरामा एमाले विश्वस्त रहेको उहाँले बताउनुभयो । एमाले मुलुकको भाग्य र भविष्य निर्माण गर्ने पार्टी भएकोले मध्यपहाडका भविष्य एमालेले निर्माण गरेरै छाड्ने पोखरेलले दाबी गर्नुभयो । 

मुलुकले विकास समृद्धिको लागि जुन किसिमको समर्थ्य निर्माण हुनुपर्ने हो नेपालमा त्यो सामर्थ्य निर्माण नै हुन नसकेको उहाँले प्रष्ट पार्नुभयो । बहुदल प्राप्ति पछि कुनै पनि प्रधानमन्त्रीले पूर्ण समय काम गर्न नपाएको कारण विकास र समृद्धिको आधार नै बन्ने नसकेको उहाँको निष्कर्ष छ । 

राष्ट्र निर्माण र समृद्धिको कुरा नेकपा एमालेबाट मात्र सम्भव भएको उहाँले स्पष्ट पार्नुभयो । त्यसैले समाजवादको बाटोमा अघि बढ्न चाहने सबैलाई एमालेमा आउन पोखरेलले आग्रह गर्नुभयो । एमालेलाई राष्ट्रिय शक्ति निर्माण गरेर मात्रै समृद्धिको काम गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो । 

सरकार माथि अब जबरजस्त दबाब सिर्जना गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । मुलुकलाई रसातलमा पुर्‍याउने गठबन्धनका विरुद्ध आँधीबेहरी ल्याउने पर्नेमा उहाँले जोड दिनुभयो ।