अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेद्वारा देशका प्रमुख मुद्दाहरूमा दबाब सिर्जना गर्ने तयारी गर्दै 

एमालेद्वारा देशका प्रमुख मुद्दाहरूमा दबाब सिर्जना गर्ने तयारी गर्दै 


काठमाडौँ-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी देश र जनतासँग सरोकार रहने प्रमुख मुद्दाहरूमा जनपरिचालनमार्फत् राज्यप्रति दबाब सिर्जना गर्ने तयारी गर्दै रहेको बताउनु भएको छ। 

ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको ‘उपभोक्ता हित र सुशासन’बारे सांसदसँग गरेको अन्तरक्रिया उहाँले पार्टी, देश र जनताको हितसँग सम्बन्धित विषयमा जनतालाई पनि जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। 

पार्टी देश र जनताको हितसँग सम्बन्धित विषयहरूमा जनतालाई जोडेर दबाबमूलक कार्यक्रम गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्नै लागेको बताउँदै महासचिव पोखरेलले राज्यले मनपरी गरिरहने र पार्टी टुलुटुलु हेरेर बस्ने अवस्था रहँदैन भन्नुभयो। उहाँले उपभोक्ताका सरोकारका विषयमा सडकमा मात्र नभई सदनमा पनि उत्तिकै सशक्त आवाज उठाई सडक र सदनलाई जोडिने बताउनुभयो। 


उहाँले सांसदलाई उपभोक्ता हितसँग सम्बन्धित धेरै विषय रहेका र ती विषय सदनमा पनि उठाउनु आवश्यक रहेको भन्दै सदनमा मुद्दा उठाउँदा विषय केन्द्रित भएर व्यवस्थित प्रस्तुतिको योजना बनाउन आग्रह गर्नुभयो। 

कार्यक्रममा उपभोक्ता हित तथा सुशासनसम्बन्धी जानकार ज्योति बानियाँ र विष्णुप्रसाद तिमिल्सिनाले उपभोक्ताहरू हरेक क्षेत्रमा मर्कामा परिरहेको बताउनुभयो।

कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठ, प्रतिनिधिसभामा प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, संसद्को दुवै सदनअन्तर्गतका विभिन्न समितिमा रहनुभएका सांसदको सहभागिता थियो। 

विभाग प्रमुख जितु गौतमले उपभोक्ता हित तथा सुशासनका विभिन्न क्षेत्र छुट्याई विभागका सदस्यलाई कार्य विभाजन गरिएको जानकारी गराउँदै सांसदलाई आवश्यक पर्ने सहयोग विभाग र विभागका सदस्यबाट प्राप्त हुने व्यवस्था गरिएको बताउनुभयो।