अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बहुमत ल्याएर सरकार बनाउँछ, बहुमतको सरकार हाँकेर देखाउँछ: अध्यक्ष ओली

एमालेले बहुमत ल्याएर सरकार बनाउँछ, बहुमतको सरकार हाँकेर देखाउँछ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताउनु भएको छ।

नेकपा एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सोमबार जलेश्वरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले बहुमत सहित सरकारमा जाने तयारीमा लागेको बताउनुभयो। त्यसैको लागि नेकपा एमाले मिसन २०८४ मा केन्द्रित भएको स्पष्ट पार्नुभयो।

एमालेले २०८४ मा बहुमत सहितको सरकार बनाउने ओलीले स्पष्ट पार्नुभयो। त्यसैले एमाले संगठन निर्माण र विस्तारमा केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो। ‘हामी बहुमत ल्याएर सरकार बनाउन चाहन्छौँ, बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौँ’, ओलीले भन्नुभयो।

ओलीले सरकारको गैरजिम्मेवारीले पराकाष्ठा नाघेको बताउनुभयो । तथापि नेकपा एमाले अहिले सरकार ढाल्ने र बनाउने खेलमा नरहेको उहाँले स्पष्ट पार्नुभयो।

वर्तमान सत्ता गठबन्धनले देश र जनताको हितमा काम गर्न नसकेको उहाँले बताउनुभयो । सरकाले देशको स्वाभिमानको रक्षा समेत गर्न नसकेको ओलीले बताउनुभयो। ‘यो सरकारले जनता र देशको पक्षमा त केही गर्न सकेन, छिमेकी मित्रहरूसँग भेट्दा पनि आँखा जुधाएर कुरा गर्न सकेन’, ओलीले भन्नुभयो।

अध्यक्ष ओलीले अहिलेको गठबन्धन देशको लागि अभिसाप भएको बताउनुभयो। ओलीले सत्तारुढ गठबन्धन मुलुकमा जति धेरे लम्बियो देशले त्यति नै दुःख पाउने टिप्पणी गर्नुभयो।


ओलीले आफू नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको बताउनुभयो । एमालेले सुरु गरेको समृद्धिको अभियान गठबन्धनले रोकेको उहाँको भनाइ छ।