अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी सुधार्न एमाले केन्द्रीय सदस्यका सुझाव : साँस्कृतिक बिचलनमा तीन तहको कारबाही,मेयर उपमेयरले सम्पति सार्वजनिक गर्नुपर्ने

पार्टी सुधार्न एमाले केन्द्रीय सदस्यका सुझाव : साँस्कृतिक बिचलनमा तीन तहको कारबाही,मेयर उपमेयरले सम्पति सार्वजनिक गर्नुपर्ने


काठमाडौं- निर्वाचित भएको अढाइवर्ष पुग्न लाग्दा पनि भूमिका पाइएन भन्ने केन्द्रीय सदस्यहरुलाई यस पटकको केन्द्रीय कमिटी बैठकमा एमालेले ठूलो भूमिका दिएको छ । त्यो भूमिका भनेको आगामी दिनमा पार्टीलाई कसरी जनताको बीचमा लोकप्रिय बनाउने भनेर कार्ययोजना बनाउने, त्यो कार्ययोजना प्रतिवद्धता जनाउने र कार्यान्वयन गर्न आफैंबाट सुरु गर्ने । केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको एउटा प्रश्नमा ‘तपाईंले आचरण विरोधी काम गर्नुभयो भने कस्तो कारबाही गर्नु उपयुक्त होला ?’ भनेर पनि सोधिएको थियो । यसको अर्थ एमालेका नेताले पार्टी आचरण विरोधी काम गरे आफूले आफैंलाई कारबाहीको सिफारिस गर्नुपर्ने जिम्मेवारी जारी केन्द्रीय कमिटीमा पाएका छन् ।
नौ वटा समुहमा विभाजन गरेर प्रत्येक केन्द्रीय सदस्यले व्यक्तिगत र सामुहिक सुझाव तयार गरेका छन् । समुहले तयार गरेको प्रतिवेदन टोली नेताले केन्द्रीय कमिटी बैठकमा प्रष्तुत गर्नेछन् भने उक्त समुहका सदस्यहरुको व्यक्तिगत सुझाव सो प्रतिवेदनमा सामेल गरेर केन्द्रीय कार्यालयमा बुझाइने भएको छ । ‘केन्द्रीय सदस्यल बुझाएको यो व्यक्तिगत सुझाव नै भोली आफू सुध्रिने वा अनुशासन भंग गरे कारबाहीको आधार बनेर पार्टीको बहिखातामा रहनेछ’ एक पदाधिकारीले यो बेलासँग भने ‘नेतामा देखिएको खराब आचरण र महंगो जीवन शैलीलाई व्यवस्थापन गर्न यो विधी अपनाइएको हो । ’
के के आए त सुझाव ?
कुन कुन समुहले एमाले शुद्धिकरण र संगठन सुदृढिकरणका लागि के कस्ता सुझाव दिए ? त्यो भोलि नै थाहा होला तर केही केन्द्रीय सदस्यहरुसँग यो बेला डट कमले कुरा गर्दा पार्टीका नेताहरुले आचरण सुधार्नु पर्ने र जीवन शैली पारदर्शी हुुनुपर्नेमा सबै समुहको समान धारणा रहेको पाइएको छ । पार्टी सुर्धान पहिले नेता सुध्रिनु पर्ने त्यसपछि कार्यकर्ता सुधारिनेमा सबैको एकमत रहेको पाइएको छ ।
विभागीय प्रमुख र जनसंगठनका इन्चार्ज सहितको समुहका एक सदस्यले दिएको जानकारी अनुसार नेताहरुको ‘जीवन शैलीमा विकृति र आचरणमा समस्या’ लाई पार्टी भित्रको प्रमुख समस्याको रुपमा पहिचान गरिएको छ । यसका लागि पार्टीले सम्बन्धित नेतालाई पहिले मौखिक जानकारी,दोस्रोमा लिखित स्पष्टिकरण र तेस्रोमा निस्कासनको कारबाही गर्न सिफारिस गरेको छ ।
यस्तै पार्टीका नेता कार्यकर्ता समाजमा सयौं सामाजिक संस्थामा सहभागी भए पनि पार्टीकोसँगको सम्बन्ध बिच्छेद भएकोले त्यसको प्रतिफल एमालेले पाउन नसकेको निष्कर्ष यो समुहले निकालेको छ । पार्टीले पठाएका त्यस्ता नेताहरुलाई पार्टीको ‘ग्रीप’मा राखेर काम लगाउनु पर्ने सुझाव पनि यो समुहले दिएको छ । यो समुहले हरेक वर्षको फागुन चैत महिनालाई पार्टी सदस्यता नविकरण महिना भनेर क्यालेण्डरमा राख्न पनि सुझाव दिएको छ ।
यस्तै सुदुरपश्चिमका केन्द्रीय सदस्यहरुले पार्टीको विधान अनुसार मापदण्ड नपुगेको सदस्यहरुलाई विभिन्न कमिटीमा राखिएकोमा तत्काल त्यसलाई सच्याउन सुझाव दिइएको छ । एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार यो अवस्था केन्द्रीय सदस्यहरुमा नै विद्यमान छ । ‘केन्द्रीय सदस्य बन्न पार्टी सदस्यता लिएको १५ वर्ष पुग्न’ पर्ने विधानको व्यवस्था छ तर ५ वर्ष ७ वर्षमा नै कतिपयलाई केन्द्रीय सदस्य बनाइएको छ यसलाई तत्कालै सच्याउनु पर्दछ ’ ति केन्द्रीय सदस्यले भने ‘पार्टीका निश्चित पदमा पुग्न निश्चित ज्ञान र योग्यता पनि चाहिन्छ । नेकपा एमालेको पुरा रुप भन्न नसक्नेहरु केन्द्रीय सदस्य,जनताको बहुदलीय जनवादका विषयमा दुई मिनेट बोल्न नसक्नेहरु प्रदेश पदाधिकारी छन् । यो कुरलाई सच्याउनु पर्ने सुझाव दिएका छौं ।’
गण्डकी प्रदेशले भने जनतासँग प्रत्यक्ष जोडिने पार्टीले पठाएका पालिका प्रमुख,उपप्रमुखले आफ्नो सम्पती सावर्जनिक गर्नुपर्ने सुझाव दिएको छ । ‘जनताको प्रश्न स्थानीय जनप्रतिनिधीलाई धेरै छ’ पोलिटव्यूरो सदस्य एवं गोरखा जिल्ला इनचार्ज लिलाबहादुर थापाले भन्नुभयो ‘पालिका प्रमुख,उपप्रमुखले सम्पती सार्वजनिक गनुपर्दछ । पार्टी एकातिर जनप्रतिनिधी अर्कातिर हुने स्थितीको अन्त्य हुनु पर्दछ ।’
यो समुहले पार्टीमा संघर्षशिलताको अभाव भएर पलायनवादी चरित्र हाबी भएकोले त्यसलाई रोक्नु पर्ने सुझाव दिएको छ । यसैगरी राष्ट्रिय मुद्धाहरुमा पार्टीले सडक सदन दुवै ठाउँमा चर्को आवाज उठाउनु पर्ने यो समुहको सुझाव छ ।