अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद बैठक

यो सरकारले संसद्को बाँकी कार्यकाल पूरा गर्छ: उपाध्यक्ष पौडेल

यो सरकारले संसद्को बाँकी कार्यकाल पूरा गर्छ: उपाध्यक्ष पौडेल


काठमाडौं-नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार र गठबन्धनले संसद्को बाँकी कार्यकाल पूरा गर्ने बताउनु भएको छ । उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलहरुबीचको सहकार्यबाट प्रतिनिधिसभाको बाँकी कार्यकाल पूरा हुने बताउनु भयो।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले सत्ता र प्रतिपक्षबिचको सम्बन्धबारे संविधान, कानुन र हाम्रा अभ्यासहरुले परिभाषित गरेको स्मरण गराउनु भयो । 

उहाँले कुनै निश्चित दलसँग मात्रै सत्ता सहकार्य हुनुपर्छ भन्ने नभई संसदभित्र जुनसुकै दलका बीच पनि सहकार्य हुनु स्वभाविक प्रक्रिया भएको टिप्पणी गर्नुभयो।

नेता पौडेलले आफ्नो विगतको तीतो यात्रालाई समीक्षा गर्दै मुलुकको सुशासन, समृद्धि र सामाजिक न्यायका लागि नयाँ गठबन्धन आरम्भ गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शुभकामना दिँदै यो यात्रा अविराम र अविचलितरुपमा अघि बढोस् भन्ने कामना दिनुभयो ।

सरकारलाई जनता र राष्ट्रका पक्षका दृढतापूर्वक काम गर्न सुझाव दिँदै उहाँले सरकारको आलोचना गर्ने प्रतिपक्षको अधिकारमा संकुचन हुनु नहुने पनि प्रस्ट पार्नुभयो । तर सरकारले गरेका राम्रा काममा रचनात्मक सहयोगको भूमिका निर्वाह गर्न पनि उहाँले प्रतिपक्षलाई आग्रह गर्नुभयो।

नेता पौडेलले भन्नुभयो, ‘अहिले प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ। अहिले भएको सहयात्रा जनता र राष्ट्रका समस्यालाई सम्बोधनमा केन्द्रित रहन्छ। यो सरकारले संसद्को बाँकी कार्यकाल पूरा गर्नेछ।’

आर्थिक मन्दीका कारण जनताका निराशा र असन्तुष्टिलाई सम्बोधन गर्दै प्रतिपक्षका जायज मागलाई सुनेर सरकारले आशावाद सिर्जना गर्ने काम गर्ने उहाँको भनाइ छ।