अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य पूरा गर्न नयाँ गठबन्धन: ईश्वर पोखरेल

‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य पूरा गर्न नयाँ गठबन्धन: ईश्वर पोखरेल


उदयपुर-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारमा एमालेसहितको गठबन्धन र समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको बताउनुभएको छ।

गाईघाटमा आज नेकपा एमाले उदयपुरको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक स्थायित्वका लागि गरिएको बताउनुभयो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्काल वामपन्थी पार्टी एक हुने अवस्था नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘अहिलेको गठबन्धनलाई आधार मानेर केहीले पार्टी एक हुन्छ भन्ने हल्ला गरेका छन्, त्यस विषयमा एमालेको कुनै सोच छैन, नयाँ गठबन्धन मुलुकको हितका लागि मात्र हो त्यति बुझ्नुस्। व्यक्तिगत हिसाबले एकल मान्छेहरु पार्टीमा आउन सक्छन्, तर यसको मतलब पार्टी नै एक हुने हो भन्ने हैन।’ 

उहाँले यो गठबन्धन मुलुकको समृद्धि र हितमा रहेको बताउनु भयो। ‘समाजवादी मोर्चा र वाम गठबन्धन अहिले आवश्यकता र त्यसको अर्थ पनि छैन’ पोखरेलले भन्नुभयो, ‘यो गठबन्धन मुलुकको समृद्धि र हितमा हो। विगतको गठबन्धन एमालेलाई जसरी पनि सिध्याउने षडयन्त्रपूर्ण ढङ्गबाट बढेकाले नयाँ गठबन्धनको परिकल्पना गरेको हो, यो गठबन्धन राष्ट्रिय हित, स्वाभिमान, समृद्धिका लागि हो।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले मुलुकको समृद्धि हासिल गर्न र नेकपा एमालेको संकल्प गरेको समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नयाँ समीकरणको सरकार बनेको स्पष्ट पार्नुभयो।

उहाँले नयाँ गठबन्धनबाट एमालेले मिसन २०८४ को लक्ष्य हासिल गर्ने बताउनु भयो। उहाँले नयाँ समिकरणसँगै सात वटै प्रदेश सरकारहरु फेरबदल हुने बताउनुभयो।