काठमाडौं -राष्ट्रिय राजनीतिले एकपटक कोल्टो फेर्दा प्रदेशको राजनीति सातपल्ट कोल्टो फेरिरहेको छ । गतवर्षको पुष १० मा एमाले माओवादी गठबन्धनबाट बनेका सरकारहरु काँग्रेससँगको सहकार्य बढाएपछि ड्याम ड्याम ढलेर नयाँ स्वरुपमा बनेका थिए । यसपाली प्रधानमन्त्री पुष्पकमल दाहालले काँध फेर्दा ति नयाँ स्वरुपमा सरकारहरु उसैगरी ड्याम्म ड्याम्म ढलेर नयाँ सरकारहरु बन्ने क्रममा छन् । यसबीचमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेलले विश्वासको मत लिनुभयो । त्यहाँ मुख्यमन्त्री भन्दा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य बढी चर्चामा रहे । गण्डकीमा खगराज अधिकारी मूख्यमन्त्रीमा नियुक्त हुनुभयो तर त्यहाँको ‘सत्ताका चाबी’ दिपक मनाङ्गे चर्चामा रहनु भयो । लामो रस्साकस्सीका बीच हिजो मात्र कर्णालीको मूख्यमन्त्रीमा नियुक्त हुनु भएका यामलाल कडेंल भने आफैं चर्चामा हुनुहुन्छ ।
मुख्यमन्त्री नियुक्त हुँदा पनि नहुँदा पनि त्यही मुख्यमन्त्री पदसँग जोडिएर यामलाल विगत सातवर्ष देखि सधैं चर्चामा रहनुभयो । उहाँको नियुक्तीसँगै अन्य प्रदेशमा जस्तो अर्को कुनै साँसद वा मन्त्री होइन स्वयं मुख्यमन्त्री नै चर्चामा हुनुहुन्छ । यसका पछाडी विविध कारणहरु छन् । पहिलो कुरा त यामलालको ‘व्यक्तित्व’ नै हो । हठी,हक्की,झोक्की स्वभावका यामलालका मुख्यमन्त्री हुने अनेकन प्रयासहरु विफल हुँदै आएका थिए । २०७४ सालको संघीय र प्रदेश निर्वाचनमा यामलालले जहाँ चाह्यो त्यहाँ टिकट पाउने अवस्था थियो । ४ जना योद्धाहरुले बलिदान गरेर जन्माएको कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री हुने आकांक्षा यामलालमा पलायो । जसले उहाँलाई संघको साँसद वा मन्त्री भन्दा प्रदेशको मुख्यमन्त्रीमा बढी आकर्षित गर्यो । त्यही कारण उहाँले सुर्खेत क्षेत्र नं २ को प्रदेश ख बाट निर्वाचन लड्नु भयो । जित्नुभयो । त्यसबेला एमालेले कर्णालीका प्रत्यक्ष र समानुपातिक गरी ४२ सिट मध्ये एमाले एक्लैसँग २० सिट थियो । तर प्रधानमन्त्री र सातै प्रदेशका मन्त्री भाग लगाउँदा कर्णाली एमालेको हातमा परेन । माओवादीको भागमा यो प्रदेश परेका कारण यामलाल सुविधाजनक अवस्थामा रहँदा रहँदै मुख्यमन्त्री हुनबाट बञ्चित हुनुभयो ।
एमाले माओवादी चुनावी गठबन्धन हुँदै पार्टी एकता भएर नेकपा भइसक्दा पनि यामलाल र तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच सुमधुर सम्बन्ध हुन सकेन । जसका कारण मुल नेतृत्वको जानकारी बिना कडेंलले शाहीका विरुद्ध अविस्वासको प्रस्ताव राख्नुभयो । २५ असोज ,२०७७ मा नेकपा संसदीय दलमा कडेंलको नेतृत्वमा पेश गरिएको अविश्वासको प्रस्ताव नै कालान्तरमा नेकपा विभाजनको कारण बन्यो । नेकपा विभाजनको ‘बीउ’को रुपमा रहेको यो अविस्वासको प्रस्ताव अ िनबढ्दा यामलालको राजनीतिक छविमा प्रश्न पनि उठ्यो । ‘उहाँ जोशिलो,आँटी र निर्णय गर्न एकछिन पनि नकुर्ने नेता हुनुहुन्छ’ एमाले कर्णालीका एक नेता भन्छन् ‘तर त्यसको दीर्घकालिन असर र परिणाम विष्लेषण नगर्ने कुराले धक्का पनि पाउनु भएको छ । ’
यामलालले कर्णालीको मुख्यमन्त्री हुन तेस्रो प्रयास गतवर्ष पनि गर्नुभयो । माओवादीसँगको गठबन्धनमा संघीय र सातै प्रदेशका सरकार निर्माण हुँदा कर्णाली फेरी पनि एमालेकोे भागमा परेन । केन्द्रसँग अनेक हारगुहार गर्दा पनि यामलालको भागमा मुख्यमन्त्री नपरेपछि उहाँले आफैं माओवादीसँग आलोपालो मुख्यमन्त्रीको लिखत गराउन सफल हुनुभयो । ‘त्यसबेला माओवादीलाई ट्रयापमा पारेर उहाँले आधा कार्यकालको सहमती गराउनुभएको थियो’ कर्णाली प्रदेशसभाका एक सदस्य भन्छन् ‘त्यसको पैंचो तिर्न अहिले माओवादीले उहाँ मुख्यमन्त्री हुनेबेलामा अनेक अत्तो थापेका हुन् ।’
कडेंलले आफ्नै प्रयासमा गरेको आलोपालो सहमती माओवादी एमालेको समिकरण भत्किएसँगै निस्क्रिय भयो । अहिले कर्णालीमा मुख्यमन्त्री माओवादीसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अरुचीका कारण कडेंलको भागमा कर्णालीको कार्यकारी पद आइपुगेको हो । हालसम्म पार्टी भित्र वा बाहिर ‘विपक्षी’ नेताको छवि बनाएका कडेंलले ‘समृद्ध कर्णाली,सुखारी कर्णालीबासी’को अपेक्षालाई कसरी पुरा गर्नुहुन्छ ? विपक्षी नेताको छविबाट बदलिएको यामलालको पहिचान ‘सत्ता राजनीति’मा कसरी अघि बढ्छ ? आफूसँग असहमत हुनेहरुलाई पनि चित्त बुझाएर अघि बढ्ने वा पुरानै कार्यशैलीलाई निरन्तरता दिने ? विपक्षी नेताको पहिचान बदलिएर सत्तापक्षको नेता भएको महसुष यामलालले कर्णालीमा कसरी दिनुहुन्छ ?निकट भविष्यमा नै यी सवालको निक्र्यौल हुनेछ ।
प्रतिक्रिया