अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

झापाको सैनिक बस्तीमा पिउने पानीको लागि अझै आकासे पानीको भर

झापाको सैनिक बस्तीमा पिउने पानीको लागि अझै आकासे पानीको भर

अर्को वर्ष समस्या समाधान गर्ने साँसद साँवाको प्रतिवद्धता



झापा- मानिसले पिउनका लागि आकाशबाट पानी पर्नुपर्छ भन्दा अपत्यारिलो समाचार लाग्न सक्छ । त्यो पनि झापा जिल्लामा । तर यो सत्य घटना हो । शिवसताक्षी नगरपालिका वडा नम्बर १० को सैनिक बस्तीका ९० घर परिवारले पानी पिउनका लागि आकासबाट पानी पर्नुपर्छ । अनिमात्र आजश्यकता अनुसार स्थानीयवासीले पानीको उपभोग गर्न पाउँछन् ।
पानी माग्दा दही
‘दिउँसो कोही कतैबाट पाहुना आएर पानी माग्नुभयो भने दिने उपाय हुदैन । बरु दहि नै दिने गरेका छौं,’ स्थानिय यसै भन्छन् ‘हुने खानेले बजारबाट जार र मिनरल वाटरको पानी ल्याएर राख्नुभएको छ । विशेष आगन्तुकले पानी पाउनु हुन्छ । नत्र, हुँदा खानेको घरमा मात्र होइन शैनिक बस्तीमा पिउनका लागि पानी पाईदैन ।
शैनिक बस्तिको पिउने पानीको समस्या २०५२ सालदेखि जस्ताको त्यस्तै छ । स्थानीय भन्छन्, ‘सांसद, मेयर र वडाध्यक्षको जीवनशैली हामीले दिएका भोटले परिवर्तन भयो । तर, हाम्रौ आधारभुत आवश्यकता पिउने पानीको व्यवस्था परिवर्तन हुन सकेन ।’ स्थानिय पुष्प संग्रौला भन्छन,‘ यो देशमा नेताका लागि मात्र अधिकार बन्यो । जनताका लागि बन्न सकेको रहेनछ ।’
पीउने पानीका लागि आकाशकै भर
पिउनका लागि सैनिक बस्तीका ९० वटा घरमा आकाशबाटै पानी पर्नुपर्छ । आकाशबाट पानी नपरेको दिन भने कन्काई नहरको पानी स्थानीयले उपभोग गर्छन् । कतिपयले नहरमा मोटर पम्प राखेर पाईपको सहायताले घरैमा पानी ल्याउँछन् । कतिपयले डोकोमा घैला, जरकीन लगायतका भाडा वर्तनमा पानी ल्याएर भन्डारण गर्छन अनि आवस्यक्ता अनुसार उपभोग गर्छन् । संग्रौलाले भन्नुभयो,‘ २९ वर्ष देखि यहाँका स्थानियको समस्या जस्ताको त्यस्तै छ । यो गाउँ काकाकुल नै बनेको छ ।’
नहरको पानीले छालाको रोग
नहरबाट घर सम्म आएको पानीलाई स्थानीयले घरेलु विधि अपनाएर फिल्टर गर्ने गरेका छन् । त्यो पानी खाना पकाउन देखि चिया, लुगाफाटो धुन, नुहाउन, पशु चौपाया, पंक्षि अथवा पानी जे जे कामका लागि चाहिन्छ त्यसमा प्रयोग गर्छन् । स्थानिय रनमाया ओलीका अनुसार नहरको पानी उपभोग गर्दा छालाको रोग देखा पर्न थालेको छ ।
‘छालामा खटिरा जस्तो सानो फोको देखा पर्छ । फुट्छ अनि शरिर पुरै चिलाउछ,’ ओलीले भन्नुभयो ‘टाउको दु्ख्छ, चक्कर लाग्दा यो सबै पानी शुद्धिकरण हुन नसकेर हो कि भन्ने लाग्छ ।
नहरको पानी धमिलो आउन थालेपछि लुगा धुन र नुहाउन समस्या हुन थालेको स्थानियले बताएका छन् । पुर्वी पहाडमा पानी परेपछि कनकाई नहरमा धमिलो पानी आउने गरेको छ ।
पानी पर्दा खुशी हुने गाँउ
आकाश धमिलिएका दिन घरमा भएका सबै भाडा बर्तनहरू पानी थाप्नका लागि गाउँमै तयार गरिन्छ । स्थानीय पानी पर्ने भयो भनेर खुसी हुन्छन् । आकाशबाट पानी पर्यो भने बलेसीको पानीमा कति दिन देखि ननुहाएको शरिर मज्जाले नुहाउछन् । पानी पिउन र नुहाउन पनि आकाशकै भर पर्नुपर्ने यहाँको समस्याका बारेमा वडा अध्यक्ष देखि सांसद सम्म बेखवर छैनन् । तर, इच्छा शक्ति नहुँदा भने वर्षोदेखीको समस्या समाधान हुन नसकेको स्थानियले बताए ।
आफ्नै कर्मलाई धिक्कार
आकाशबाट झरेको पानी घरको छानामा झरेपछि जस्ताको मगराको सहायताले त्यो पानीलाई ट्याङ्कीमा जम्मा गरिन्छ । अनि फिल्टर गरेर स्थानीयले उपभोग गर्ने गरेका छन् । टिभी, रेडियो, पत्रपत्रिका, फेसबुकबाट यस्तो समस्या हिमाली जिल्लाका विकट गाँउमा मात्र सुन्ने र देख्ने गरेकी सरस्वती तिम्सिनाले आफ्नै घरमा आफ्नै कर्मलाई धिक्कारेकी छन् । ‘मान्छेले पानी पीउन समेत नपाउने सरकारको यो कस्तो व्यवस्था हो,’ उनले प्रश्न गरिन् ।
पानी देखाएर भोट माग्छन् ।


‘०५२ पछिका हरेक निर्वाचनमा राजनीतिक दलका नेताले यहीको खानेपानीको समस्या समाधान गर्ने भनेर भाषण गरे । हामीले भोट पनि दियौ । तर उनीहरुको भाषण झुटा आश्वसन मात्र रहेछ,’ पिउने पानीको समस्याका बारेमा यहाँका नेता जागरुक नभए आन्दोलन गर्ने स्थानियले धम्कि दिए ।
निर्वाचनताका भोट माग्न जाँदा उम्मेदवारले त्यही पानीको विषयलाई उठाएर मत पाउने गरेका थिए । मत पाउने नेता र जिताउने जनता चुनावताका एकै ठाँउमा थिए । अहिले जनता र नेताको दुरी यै समस्याले टाढा हुदै गरेको छ । निर्वाचन जितेपछि उनीहरूले गाउँलेको समस्यालाई कानमा तेल हाले झैँ गरेर सुनेको नसुने गरेको आरोप स्थानीयले लगाएका छन् ।

ट्युवेल चलाउँदा दाँत झर्छ
पानीको सतह सुक्दै जाँदा स्थानीयले गाडेका टुवेलमा पानीको थोप्पा आउँदैन । ४० देखि ८० फिटसम्म को गहिराईमा टुयुवेल गाडिएको छ । पानीका लागि मरिहत्ते गरेर ट्युवेल चलाए पनि हातमा ठेला उठ्छ तर जमिन मुनिको पानी माथि उठ्न सक्दैन । कतिपयले ट्युवेलको हेन्डिल फुत्केर चिउडो, दाँत र टाउको फुटेको छ । स्थानिय ताला सोरेनको निधार र छोरीको दाँत टु्युवेलको हेन्डिलले भाचिदिएको छ ।
बाली नाली पनि सुक्यो
माघको दोश्रो साता देखी असारको भेलको मुल नफुटुञ्जेलको सम्म यहाँका स्थानियलाई पीउने पानीको समस्या छ । खडेरीले पानीको सतह सुकेपछी सैनिक बस्तिका बालि पनि सर्लक्क सुकेका छन् । सुकेका बालि चौपायालाई घाँसको रुपमा काटेर दिने गरेको स्थायिनले बताए । उनका अनुसार ‘मकै लगाएका थियौ । काम नदिने गरि सुक्यो ।’
सैनिक बस्तिको पाँचसय मिटर वरपर पीउने पानीको व्यवस्था छ । नुनमाटी दोमुखा खानेपानीको वडा स्तरको खानेपानी योजनाले शैनिक बस्ति ५ सय मिटर दुरी बाहिरका बस्तिमा पानीको सुविधा दिएको छ । स्थानीयबासीसँग उक्त आयोजनाका अध्यक्ष चन्द्रवहादुर बस्नेतले स्थानीयले पाइपको व्यवस्था गरे पानीको सुविधा उपलब्ध गराउन सकिने बताएका थिए । तर, स्थानिय संग पाईप किन्ने पैसा छैन ।


सांसद साँवाको फेरि प्रतिवद्धता


झापा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद एलपी सावाँले वडा नम्बर १० का दुई वटा बस्तीमा आफ्नै पहलमा पिउने पानीको व्यवस्था भएको बताउनुभयो । तर, सैनिक बस्तिमा पानीको समस्या भएको उहाँको पनि भनाइ छ । ‘यो वर्ष केही गर्न सकिएन । अर्को वर्ष पानीको सुविधा सैनिक बस्तिका स्थानीयबासीले पाउने छन्,’साँवाले भन्नुभयो ।