अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्राकृतिक स्रोतको सरक्षण: देवचुली डाँडाको पर्यटन विकासको आधार

प्राकृतिक स्रोतको सरक्षण: देवचुली डाँडाको पर्यटन विकासको आधार


कावासोती-नवलपुरको सबै भन्दा अग्लो डाँडा देवचुलीको पर्यटन विकासका लागि यस क्षेत्र वरपरका प्राकृतिक स्रोत साधनको संरक्षण हुनुपर्नेमा स्थानीय सरोकारवालाहरुले जोड दिएकका छन्। विश्व वातावरण दिवसका दिन बुधबार चुलीबोझामा आयोजित देवचुली डाँडाको पर्यटन विकासमा सरोकारवालाहरुको भूमिका बिषय अन्तरक्रियामा बोल्ने वक्ताहरुले सो कुरामा जोडदिएका हुन्।

देवचुली डाँडा पर्यटन विकास समितिका अध्यक्ष विद्रोही गिरीले प्राकृतिक , धार्मिक, ऐतिहासिक पुरातात्विक महत्वको क्षेत्र देवचुली डाँडा नवलपुरको पर्यटन विकासको आधार स्तब्भ भएको बताउनुभयो। यहाँको वातावरण, संस्कृति, भाषा तथा स्थानीय रीतिरिवाजको संरक्षणबाट पर्यटकलाई आकर्षण गर्ने सकिन्छ त्यसका लागि यहाँको जैविक बिबिधताको संरक्षण हुन आबश्यक छ अध्यक्ष गिरीले भन्नुभयो, ‘देवचुलीको कोख भएर उत्तर र दक्षिण बग्ने खोलाहरु, यहाँ पाइने बनस्पतिहरुले मानव जीवनलाई सहज बनाएको छ।’ दीगो विकासको लागि प्राकृतिक स्रोतको संरक्षण र सदुपयोग सही तरिकाले गरिनु पर्नेमा उहाँको जोड रहेको छ।

बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुसालले स्थानीय जागरुक हुदा पर्यटन विकासले गति लिने धारणा राख्नुभयो । स्थानीय तहले स्थानीय उत्पादन, संरक्षण र सदुपयोगमा जोड दिने भएकाले समुदाय स्तरमा पनि यस खालको गतिबिधि हुनुपर्नेमा उहाँको जोड रहेको छ। देवचुली डाँडा दृश्यालोकनको हिसावले मात्रै नभएर जैविक बिबिधताको धनी क्षेत्र भएकाले यसको विकासमा लाग्न जरुरी भएको बुलिङटार गाउँपालिकाका लेखा अधिकृत बाबुराम तिवारीले बताउनुभयो।

देवचुली सम्म पुग्ने वाटोको अबस्था राम्रो बनाउन सक्दा पर्यटकलाई थप सेवा मिल्ने बुलिङटार–४ का वडाध्यक्ष मिनबहादुर आलेले बताउनुभयो । कार्यक्रममा देवचुली डाँडा पर्यटन विकास समितिका कोषाध्यक्ष हेमलाल बरालले इको क्लबहरु निर्माण गरी बिद्यालय स्तरबाट देवचुलीको महत्व बारे जानकारी दिनु पर्ने धारणा राख्नुभयो। समितिका सचिव मनवीर पुलामीले देवचुलीको पर्यटन विकासमा सबै पक्षको हातमालो जरुरी भएको धारणा राख्नुभयो।

कार्यक्रमममा अर्खला, देउराली, चुलीबोझा, बोझापोखरी, किर्तिपुर, लगाएतका ठाउँका मानिसहरुको सहभागीता रहेको थियो ।