अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशलाई समृद्ध बनाउन देशमै भविष्य खोज्नुपर्छ: शंकर पोखरेल

देशलाई समृद्ध बनाउन देशमै भविष्य खोज्नुपर्छ: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले अहिले पनि चुनौतीको बिचमा रहेको बताउनुभएको छ। 

नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आइतबार च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी र सदस्यको शपथग्रहण तथा जनसंगठनका पदाधिकारी सहितको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यी चुनौतीलाई कामबाट नै समाधान गर्नुपर्ने बताउनुभयो।

पार्टी समक्ष रहेका चुनौती सामना गर्न पार्टी र पार्टीका विभाग तथा जनसंगनठको महत्पूर्ण भूमिका हुने उहाँले प्रष्ट पार्नुभयो। ‘पार्टीलाई सही रूपमा अघि बढाउन भूमिका खेल्ने काम विभागहरूले गर्नुपर्दछ’, उहाँले भन्नुभयो। 

आफूले प्राप्त गरेको कामको क्षेत्र पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउन र जनतामा जोडिनको लागि हो भन्ने कुरा जिम्मेवारी प्राप्त गर्नेले अनुभूत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। जसले जे जिम्मेवारी पाएको छ, उसले पाएको त्यो जिम्मेवारीको महत्त्वपूर्ण अर्थ रहेको उहाँले बताउनुभयो।

जनतासँग घुलमिल हुने नाममा जे पनि गर्ने भन्ने कुरा भने उचित नभएको उहाँले स्पष्ट पार्नुभयो। त्यसैले राजनीतिक दलका नेता, कार्यकर्ता समाजमा आदर्श पात्रको रूपमा स्थापित हुनुपर्नेमा उहाँले जोड दिनुभयो। 

जनताको बीचमा जाने क्रम निक्कै पातलिएको भन्दै महासचिव पोखरेलले जनतासँग जाने कुरालाई बाक्लो गराउनु पर्ने बताउनुभयो । जनताको चाहना राजनीतिक दलका नेताहरू आफ्नो घरमा आइदेओस् भन्ने हुने उहाँले प्रष्ट पार्नुभयो । ‘हामी जनताको बिचमा जान छाडेका छौँ, जसको कारण उनीहरूसँगको हाम्रो सम्बन्ध टुटेको छ’, उहाँले भन्नुभयो । 

नेपालको राजनीतिमा युवाको आकर्षण गराउन नसकिएको उहाँले बताउनुभयो । युवालाई राजनीतिमा नल्याएसम्म भविष्य सुरक्षित नहुने पोखरेलले प्रष्ट पार्नुभयो । ‘वर्तमानमा मात्र रमाएर भविष्य बन्दैन, भविष्यको सुरक्षा गर्न भविष्यलाई सुरक्षित गर्नुपर्छ’,उहाँले भन्नुभयो । 

महासचिव पोखरेले आज देशमा रोजगारीको अवसर छैन भनेर विदेश जाने र विदेशमा गएर नेपाल र नेपालको राजनीतिलाई गाली गर्ने क्रम बढेको बताउनुभयो। देशलाई समृद्ध बनाउने हो भने देशमा नै भविष्य खोज्नु पर्ने उहाँले प्रष्ट पार्नुभयो । विदेशमा बसेर देशलाई गाली गरेर देश नबन्ने उहाँले बताउनुभयो । 

अहिले नेपालमा रोजगारीको अवसर नै छैन भनि युवा बिदेसिएका भए पनि त्यो गलत भएको उहाँले बताउनुभयो। नेपालमा बेरोजगारी भएकै कारण नेपाली युवा विदेश नगएको पोखरेलका दाबी छ। नेपाली युवा रोजगारीमा गएका देशमा थप बढी बेरोजगारी रहेको उहाँले बताउनुभयो। नेपालमा काम गर्ने तर विदेशमा भने जे काम पाए पनि गर्ने प्रवृत्ति नेपाली युवामा देखिएको उहाँले प्रष्ट पार्नुभयो। 

नेपालबाट युवाहरू रोजगारी खोज्न विदेश गइरहँदा भारतबाट नेपाल आएकाले नेपालमा रोजगारी गरेर ठुलो पैसा भारत लैजाने गरेका उहाँले सुनाउनुभयो । कतिपय नेपालका उद्योग व्यवसायमा भारतीय कामदारको एकाधिकार रहेको उहाँले प्रष्ट पार्नुभयो।

समाज बदल्नको लागि पाँचवटा आधार रहेका बताउँदै पोखरेलले त्यो आधार राजनीतिक दलका कार्यकर्ताले नै दिनुपर्ने उहाँले बताउनुभयो। नेपालको शिक्षा उत्पादनमा जोड दिने खालको नभएको उहाँले बताउनुभयो । नेपालका विश्वविद्यालयले जागिर खोज्ने शिक्षा मात्र दिएको उहाँले बताउनुभयो। जसको कारण नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्तिले देश निर्माणको लागि काम गर्न नसकेको पोखरेलले प्रष्ट पार्नुभयो।

त्यस्तै, कमजोर स्वास्थ्य अवस्था भएका नागरिक भएका मुलुकले देशको लागि काम गर्न नसक्ने उहाँले बताउनुभयो। उत्पादनमा विज्ञान प्रविधिले ल्याएका उपकरण प्रयोग गर्ने सामर्थ्य नेपाली समाजमा कमजोर रहेको उहाँले बताउनुभयो। यसले पनि देश विकासले गति लिन नसकेको पोखरेलले प्रष्ट पार्नुभयो। ‘देश निर्माणको लागि चाहिने प्रविधिमा हाम्रो रुचि कम छ’ उहाँले भन्नुभयो।

नेपाली समाजमा बचनको संस्कृति पनि निक्कै कमजोर रहेको उहाँले बताउनुभयो। ‘जुन समाजले बचन संस्कृति विकास गर्न सक्दैन, त्यहाँ पुँजी निर्माण हुन सक्दैन’ उहाँले भन्नुभयो ।

व्यवसायिकताको विकास जबसम्म राष्ट्रमा गर्न सकिँदैन तबसम्म देश विकास हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो। एमालेको ध्यान यिनै कुरामा जानुपर्नेमा उहाँले जोड दिनुभयो।