अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हतारमा तत्काल पार्टी र वाम एकता हुँदैन: प्रधानमन्त्री दाहाल

हतारमा तत्काल पार्टी र वाम एकता हुँदैन: प्रधानमन्त्री दाहाल


चितवन-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताउनुभएको छ। यहाँ आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले बिगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने बताउनुभयो।

‘पार्टी एकता वा वाम एकताभन्दा पनि राजनैतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गछौँ’, प्रधानमन्त्री दाहालले भन्नुभयो। पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उहाँले सतर्कताका साथ आफूहरु अगाडि बढेको बताउनुभयो।

प्रधानमन्त्री दाहालले अहिलेको परिस्थितिअनुसार सरकारले मेहनत गरेर काम गरिरहेको बताउनुभयो। मन्त्रालयका आ–आफ्ना जटिलता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘जनतालाई प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम देखिनुपर्छ।’ समग्रमा अहिलेको परिस्थिति जस्तो छ त्यही अनुसार सरकारले गर्न सक्ने काम मेहनत गरेर गरिरहको उहाँको भनाइ थियो।

कृषकले पाउनुपर्ने दूधको भुक्तानीका सरकारले पहल गरिरहेको प्रधानमन्त्री दाहालले बताउनुभयो। कृषकका समस्या समाधान गर्न सरकारले गम्भीर भएर काम गरिरहेको उहाँको भनाइ थियो। धान रोप्ने समयमा किसानलाई मल अभाव नहुने उहाँले बताउनुभयो।