अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार अल्पमतमा पर्‍यो, प्रधानमन्त्रीले राजीनामा दिनु उपयुक्त हुन्छ: शंकर पोखरेल

सरकार अल्पमतमा पर्‍यो, प्रधानमन्त्रीले राजीनामा दिनु उपयुक्त हुन्छ: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकार अल्पमतमा परेको बताउनु भएको छ। उहाँले व्यक्तिगत रुपमा प्रधानमन्त्री प्रचण्डको राजीनामा दिनु उपयुक्त हुने बताउनुभयो।

दाहाल नेतृत्वको सरकारलाई आफूहरूले दिएको समर्थन फिर्ता लिइसकेको र मन्त्रीहरूले पनि पदबाट राजीनामा दिइसकेको उल्लेख गर्दै महासचिव पोखरेलले सरकार अल्पमतमा परेको बताउनु भएको हो।

एमाले र कांग्रेसबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भइसकेको महासचिव पोखरेलले विज्ञप्ति जारी उल्लेख गर्नुभएको छ। असार १७ गते उक्त सहमति कांग्रेस र एमालेबीच भएको थियो।

एमालेका ८ जना मन्त्रीहरूले बुधबार राजीनामा दिएका थिए। एमालेले बुधबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। एमालेका ८ जना मन्त्रीहरूको राजीनामा बिहीबार स्वीकृत भइसकेको छ। ती मन्त्रालय प्रधानमन्त्री दाहालले नै हेर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी तोकिसक्नु भएको छ।

‘पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसक्नु भएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘संसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन नेकपा (एमाले) प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दछ।’

एमालेले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पनि दलहरूलाई आग्रह गरेको छ।