अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्रीलाई भेटेर महासंघ टोलीले भन्यो- विद्युत् बक्यौता विवाद छिटो टुंग्याऔँ

प्रधानमन्त्रीलाई भेटेर महासंघ टोलीले भन्यो- विद्युत् बक्यौता विवाद छिटो टुंग्याऔँ


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पद सम्हालेको दोस्रो दिन नै उद्योगीहरुसँग भेट गर्दै निजी क्षेत्रमैत्री नीति अघि सारिने बताउनुभएको छ । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसंगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तारविना विकास सम्भव नभएको बताउँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने बताउनुभएको हो ।
निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बताएको महासंघले जनाएको छ।
महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने बताएका थिए। निजी क्षेत्रविना अर्थतन्त्र सुधार हुन नसक्ने भएकाले सरकारले उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता ओलीको थियो। उक्त भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल पनि उपस्थित हुनु भएको थियो।
मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र विस्तारबाट मात्रै सुधार सम्भव रहेको प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष ढकालले बताएको महासंघले जनाएको छ।

सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रुपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्पmत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालको भनाइ थियो। निजी क्षेत्रलाई मर्यादाक्रममा समावेश गर्ने लगायतका गैर मौद्रिक प्रोत्साहन सरकारले दिन सक्ने अध्यक्ष ढकालको भनाइ थियो।

उद्यम व्यवसायसम्बद्ध नियामकीय निकायहरुले एक आपसमा समन्वय बढाइ लगानी प्रोत्साहन गर्ने गरी कार्य सम्पादन गर्नु आवश्यक रहेको अध्यक्ष ढकाललको भनाइ थियो।

अहिलेको अवस्थामा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै अध्यक्ष ढकालले बाह्य क्षेत्र सन्तुलित भएका कारण सुधार तत्काल सम्भव भएको पनि बताउनुभयो।

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबाट पूर्वाधारमा हुने लगानीलाई कुनै पनि प्रकारले निरुत्साहित गर्न नहुनेमा जोड दिएका थिए। साथै आर्थिक वर्षको सुरुमा नै नयाँ सरकार बनेको हुँदा पूँजीगत खर्च बढाउन विशेष पहल आवश्यक रहेको ढकालले बताउनुभयो।

यसैगरी अध्यक्ष ढकालले अहिले अर्थतन्त्रसम्बद्ध निकायहरुबीचमा समन्वयको अभाव रहेकोले अर्थतन्त्रमा सुधारका लागि प्रधानमन्त्री नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको बताउनुभयो।

निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रक लाइनसम्बन्धी विवाद तत्काल समाधान गरी उद्यमी व्यवसायीलाई निर्बाध र सहज रुपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको पनि अध्यक्ष ढकालले बताउनुभयो।

यसैगरी अध्यक्ष ढकालले सहकारी र लघुवित्तमा देखिएको समस्याका कारण ग्रामीण भेग, साना सहर र साना उद्यमीसम्म रकम पुग्न नसकेको हुँदा त्यहाँ सहज वित्तिय पहुँचका लागि विशेष पहल आवश्यक रहने बताएको पनि महासंघले प्रेस वक्तव्यमा उल्लेख गरेको छ।

उक्त भेटमा सहभागी महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले बजारमा माग बढाउन सरकारको खर्च बढाउनुपर्ने र निजी क्षेत्रको लगानी प्रोत्साहित गराउनुपर्नेमा जोड दिनु भएको थियो।

भेटमा मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताउनुभएको थियो।