सुर्खेत-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेलाई बलियो र राष्ट्रिय शक्ति बनाउन लागिरहेको बताउनु भएको छ। लोकतन्त्रलाई सुदृढ गर्न निकै आवश्यक भएको बताउँदै त्यसका लागि बलियो शक्ति आवश्यक भएकाले २०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने बताउनु भयो।
बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पोखरेलले युवाहरूमा निकै निराशावाद पलाएको र ती युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था नरहेको बताउनु भयो। तर त्यसका लागि सरकारले काम गर्नुपर्ने र निराशालाई चिर्न राज्य तयार हुनुपर्ने बताउनु भयो।
उहाँले एमाले-कांग्रेसको सरकार बनेपछि राजश्व वृद्ध हुन थालेको दाबी गर्नुभयो।
उहाँले नेपालको मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो अतिवादी दृष्टिकोणबाट भइरहेको छ।’
महासचिव पोखरेलले प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन। त्यो लोकतान्त्रिक हुन सक्दैन।’
प्रतिक्रिया