अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यसरी मनाए कलाकारले तीज

यसरी मनाए कलाकारले तीज


काठमाडौँ-आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुग्नुभयो। उहाँ १५ वर्षदेखि तीजको व्रत बस्दै आउनुभएको छ। सदाझैं यो वर्षको तीजमा पनि उहाँ फलफूल र पानी खाँदै फिल्म सुटिङमा व्यस्त हुनुभयो ।

आज उहाँ दिनभरि नै ‘के घर के डेरा’ फिल्मको सुटिङमा व्यस्त हुनुभयो। व्रत बस्दा सकारात्मक सोच आउने र काम गर्नमा थप स्फुर्ति बढ्ने उहाँको अनुभव छ । तीजमा व्रत बस्नु उहाँको लागि स्वास्थ्यका दृष्टिले लाभदायक हुनु हो। ‘तीजको बेग्लै धार्मिक महत्व छ’, उहाँले भन्नुभयो, ‘म स्वस्थ्य रहन पनि तीजको व्रत बस्छु।’

अभिनेत्री प्रियङ्का कार्की तीजमा म्युजिक भिडियो बनाउनमा व्यस्त हुनुभयो। तीज पर्व कलाकारका लागि कमाउने उपयुक्त पर्व बन्न थालेको छ। कार्कीले जति तीज गीतको नृत्य गरेर यसको सांस्कृतिक महत्व दर्शकमाझ बुझाउनुभएको छ, त्यति उहाँको वास्तविक जीवनमा मेल खाँदैन। तीजको दिन उहाँ चितवनमा ‘हिमालय रोडीज’ को सुटिङमै व्यस्त हुनुभयो। उहाँलाई तीजपर्व मनाउन खासै जरुरी लाग्दैन। काम गर्नु नै उहाँको उत्सव हो। त्यसैले उहाँको विचारमा पर्व मनाउनु भनेको शरीरलाई दुःख दिनु होइन।

गायिका सुनिता दुलाल प्रत्येक वर्षझैँ तीज मनाउन अष्ट्रेलिया पुग्नुभयो। तीजमा नचाउन एक साताअघि अष्ट्रेलिया पुग्नुभएको उहाँले यसअघि नेपालगञ्ज र सुर्खेतमा तीज सांस्कृतिक कार्यक्रम गर्न भ्याउनुभयो। स्वदेशमा भन्दा विदेशमा रहेका नेपालीले तीज पर्व महत्त्वका साथ मनाउने गरेको उहाँको अनुभव छ। तीजमा व्रत बस्ने विषयमा थुप्रै गीत गाइसक्नुभएकी गायिका दुलाल आफू भने तीजमा अहिलेसम्म व्रत नबसेको बताउनुभयो। ‘भोकै बसेर पर्व मनाउने होइन’, उहाँ भन्नुहुन्छ, ‘नाचेर, हाँसेर, गाएर रमाइलो गरेर तीज मनाउनु पर्छ।  मैले यसरी मनाउँदै आएकी छु।’

गायिका रितु कँडेलले तीज नारीहरुले सुखदुख साट्ने पर्वको रूपमा लिने गरेको उहाँले बताउनुभयो। दिनमा तीनदेखि चार ठाँउ तीज कार्यक्रममा पुगेर साङ्गीतिक प्रस्तुति दिनुभएका उहाँले एक महिनामा राम्रो आम्दानी गरेको सुनाउनुभयो। तीज गीत गाउनुका साथै गायिका कँडेल नारीलाई आफ्नो स्वास्थ्यका ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिनुहुन्छ। उहाँ फलफूल खाएर व्रत बस्नुहुन्छ भने अरुलाई रमाइलो गराएर तीज पर्व मनाउनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘समय फेरियो। पर्व पनि फेरिँदैछन्। तीज अब आँसु झारेर होइन, उत्सव गरेर मनाउनु पर्छ।’