काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रुग्ण ठेक्काको रूपमा रहेका आयोजनाहरूको समस्या समाधानका लागि मन्त्रालयले प्राथमिकता दिएको बताउनु भएको छ।
राष्ट्रिय सभामा विभिन्न मितिमा सांसदहरूले उठाएका प्रश्नहरूको मङ्गलवार जवाफ दिने क्रममा उहाँले रुग्ण ठेक्काको समस्या समाधानका लागि मन्त्रालयबाट सहसचिवको नेतृत्वमा अध्ययन भइरहेको बताउनु भयो। त्यस्ता आयोजनाहरूको समस्या समाधानका लागि सुझाव दिन निर्माण व्यवसायी महासङ्घलाई पनि भनिएको उल्लेख गर्दै मन्त्री दाहालले मन्त्रालय र निर्माण व्यवसायीको तर्फबाट प्रतिवेदन आए पछि दुवै प्रतिवेदन अध्ययन पछि उपयुक्त निर्णय गरिने समेत बताउनुभयो।
मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा केही समय वर्षायामका कारण काम गर्न कठिनाई भएपनि वर्षाकम भएसँगै सडक मर्मत कार्यलाई देशैभरि शुरु गरिएको मन्त्री दाहालले जानकारी दिनुभयो। हाल देशैभरि करीब ५ हजार किलोमिटर सडक मर्मतको क्रममा रहेको भन्दै दशैं, तिहार जस्ता चाडपर्वमा सवै सडकलाई खाल्डाखुल्टी रहित बनाई सक्ने समेत उहाँले उल्लेख गर्नुभयो।
चालक अनुमति वितरणमा समस्या जटिल भएको उल्लेख गर्दै मन्त्री दाहालले यो समस्या समाधानका लागि मन्त्रालयले प्राथमिकता सहित मिहिन रुपमा काम भइरहेको बताउनुभयो। चालक अनुमति पत्र प्रदेश स्तरबाटनै वितरण गर्न आफू नेतृत्वमा सवै प्रदेशका मन्त्रीहरु समावेश विषयगत समितिको बैठक बसिसकेको भन्दै मन्त्री दाहालले अब चाँडै प्रदेशबाट पनि वितरण थालिने विश्वास दिलाउनु भयो।
मन्त्री दाहालले विभिन्न सांसदहरुले उठाउनु भएका प्रश्नको जवाफ दिँदै संसदमा हुने प्रश्नोत्तर कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने समेत बताउनु भयो। यस्तै उहाँले प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ताको प्रतिवेदन २०७९/८० समेत संसदमा पेश गर्नुभयो।
प्रतिक्रिया