काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ।
प्रविधिको उपयोगबाट प्रगती र समृद्धीको यात्रा सहज बनाउन सकिने भन्दै उहाँले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक उर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको पनि उहाँले उल्लेख गर्नुभयो।
ईन्जिनियरीङ्अध्ययन संस्थान, पुलचोक कलेजले विकास गरेको पेट्रोल र हाईड्रोजनबाट चल्ने गाडीको सोमबार शुभारम्भ कार्यक्रममा मन्त्री दाहालले यस्ता प्रविधिको विकास र प्रवद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि मन्त्रालय अग्रसर रहेको समेत बताउनुभयो।
औद्योगीक मुलुकहरु कारण विश्वव्यापी रुपमा बढि रहेको कार्वन उत्सर्जनको मार नेपाल जस्ता मुलुकहरुमा समेत पर्दा हिमाल देखि समुद्रसम्म प्रदुषणको मार परि रहेको दहालको भनाई छ । यस्ता विश्वव्यापी चुनौतीहरुको सामना गर्न नेपाल पनि तयार रहनु पर्ने भन्दै उहाँले वातावरणमैत्री र नविकरणीय ईन्धनको प्रवद्र्धनमा जोड दिन जरुरी रहेको पनि बताउनुभयो।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले हाईड्रोजन नेपालले प्राकृतिक रुपबाटनै प्राप्त गर्न सक्ने भएकाले औद्योगीक उत्पादन र उपयोगका लागि कानूनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताउनुभयो। पेट्रोल र हाईड्रोजनको ‘कम्बस्टन ईन्जिन’ निर्माणको नेतृत्व गर्नु भएका डा. प्रकाश थापाले पेट्रोलबाट चल्ने पुरानो कारको ईन्जिनलाई हाईड्रोजन उपयोग गरि पेट्रोलको खपत कम गराउने ईन्जिन पहिलो पटक नमूनाका रुपमा बनाईएको बताउनु भयो । यो प्रविधिको विकास र विस्तार गर्न सके थोत्रा भएर थन्किएका सयौ सवारी साधनहरुलाई पुनः प्रयोगमा ल्याउन सकिने बताउनुभयो।
सोहि कार्यक्रममा ‘कन्भर्सन’ प्रविधि उपयोग गरि ईन्जिन रुपान्तरण गरिएको कारमा मन्त्री दाहाल, सांसद ठाकुर गैरे, पूर्वमन्त्री कर्णबहादुर थापा समेत सवार भई संक्षिप्त यात्रा समेत गर्नु भएको थियो। कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्, हाईड्रोजन विज्ञ लगायतको सहभागीता रहेको थियो भने क्याम्पस प्रमुख डा. ईन्द्रप्रसाद आचार्य, सहायक डिन चिन्तामणि पोखरेल लगायतले नेपली प्राविधिक र प्रविधिलाई प्रोत्साहनको खाँचो रहेको बताउनु भएको थियो।
प्रतिक्रिया