अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वसन्तपुरमा इन्द्रजात्राको राैनक (फाेटाे फिचर)

वसन्तपुरमा इन्द्रजात्राको राैनक (फाेटाे फिचर)


काठमाडाैं-भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा (येँया)को आज मुख्य दिन हो। 

नेपालमा इन्द्रजात्राको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, र सामाजिक महत्व रहेको छ। काठमाडौं उपत्यकामा विशेष रूपमा मनाइने यो जात्रा इन्द्र देवताको सम्मानमा आयोजना गरिन्छ, जो हिन्दू धर्ममा वर्षा र सम्पूर्ण सृष्टिका देवताकाे रुपमा पुजिन्छ। यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा भव्य रुपमा मनाइने गरेको छ।

मंगलबार दिउँसो काठमाडौँको वसन्तपुरमा मनाइएको इन्द्रजात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, काठमाडौँ महानगरपालिका उपमेयर सुनिता डंगोल लगायत विशिष्ट सहभागी हनुभएको छ।

इन्द्रजात्रा नेवार समुदायको मुख्य पर्वहरूमध्ये एक हो, तर यसमा सबै समुदायको सहभागिता रहन्छ।

इन्द्रजात्रा खासगरी काठमाडौंको हनुमानढोकामा आठ दिनसम्म मनाइन्छ। जात्राको पहिलो दिन यःसिं (लिंगो) ठड्याउने प्रचलन छ, जसलाई इन्द्रको प्रतीक मानिन्छ। यस जात्रामा (कुमारी यात्रा) विशेष आकर्षण हो, जहाँ जीवित देवी कुमारीको रथयात्रा गरिन्छ। 

जात्राका अवसरमा लाखे नाच, दश अवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाच लगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ। यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।

काठमाडौँको वसन्तपुर दरबारमा इन्द्रजात्राको अवसरमा मङ्गलबार जीवित देवी श्री कुमारीको रथ तान्दै सर्वसाधरण। तस्बिरः प्रदीपराज वन्त/रासस
हनुमानढोका परिसरमा इन्द्रजात्राको मङ्गलबार अवलोकन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायत ।