अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगरमा ‘हेलो गर्भवती आमा´ कार्यक्रम सुरु, गर्भवतीलाई घरमै सेवा दिने

वीरेन्द्रनगरमा ‘हेलो गर्भवती आमा´ कार्यक्रम सुरु, गर्भवतीलाई घरमै सेवा दिने


सुर्खेत-सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले गर्भवती तथा सुत्केरी आमालाई घरबाटै स्वास्थ्य सेवा दिन ‘हेलो गर्भवती आमा’ कार्यक्रमको सुरु गरेको छ।

‘हेलो गर्भवती आमा’ कार्यक्रम हरेक हप्ता गर्भवती आमाहरूलाई दक्ष स्वास्थ्यकर्मीद्वारा फोनबाट आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिने उद्देश्यले सुरु गरिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो।

यो कार्यक्रमले पहिलो पटक आमा बन्न लागेका महिलालाई आत्मबल दिने मेयर ढकालले बताउनु भयो। उहाँले भन्नुभयो, ‘पहिलो पटक गर्भवती हुँदा महिलाहरूमा धेरै दुविधा हुन्छ। मनमा धेरै प्रकारका खुल्दुली हुन्छन्। दक्ष स्वास्थ्यकर्मीहरुले आमाहरूमा देखिएको खुल्दुली मेटाउनुहुनेछ। आमाहरूलाई आत्मबल बढाउने काम गर्नुहुनेछ।’

गर्भवती अवस्थामा गर्नुपर्ने नियमित स्वास्थ्य जाँचबाट छुट्न सक्ने सम्भावित महिलाको बच्चाको स्वास्थ्यमा समस्या नहोस् भन्ने हेतुले ‘हेलो गर्भवती आमा’ कार्यक्रम मार्फत उनीहरूलाई सम्पर्क गरिने मेयर ढकालको भनाइ छ।

नगरपालिकाले यसअघि चार पटकसम्म गरिने गर्भवती जाँचमा आउने महिलालाई प्रोत्साहन स्वरूप १ हजार र निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको थियो। तर, सरकारी नियम अनुसार हाल गर्भावस्थामा आठ पटक स्वास्थ्य जाँच गर्नुपर्नेमा अधिकांश गर्भवती नआएपछि नयाँ कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ।

यो कार्यक्रमबाट आर्थिक रूपमा विपन्न महिलाले आवश्यकताका आधारमा घरबाटै सेवा लिन सहज हुने अपेक्षा राखेको मेयर ढकालले बताउनु भयो।

गर्भवतीले नियमित गर्भजाँच, रगत जाँच, भिडियो एक्सरे, पिसाब तथा आवश्यक जाँच, खोप, पोषण तथा सरसफाइका बारेमा चिकित्सकले टेलिफोन मार्फत दिनेछन्। गर्भवती अवस्थामा देखापर्ने खतराका चिह्नहरू, प्रसूतिपूर्वको तयारी र अन्य स्वास्थ्य सेवाहरू पनि अब उनीहरुलाई टेलिफोनबाटै दिइने मेयर ढकालले बताउनु भयो।

‘हेलो गर्भवती आमा’ कार्यक्रम सोमबार वीरेन्द्रनगर-२ स्थित शहरी स्वास्थ्य केन्द्र दौलतपुरबाट सेवारम्भ गरिएको छ। यो सेवा अब वीरेन्द्रनगरका १६ वटै वडाका स्वास्थ्य केन्द्रमा पनि सुरु हुनेछ।

१६ वटै वडामा रहेका गर्भवतीको पूर्ण विवरण स्वास्थ्य स्वयंसेविकाको माध्यमबाट स्वास्थ्य केन्द्रहरूमा राखिएको छ। सोही विवरण हेरेर प्रत्येक हप्ता दक्ष स्वास्थ्यकर्मीले गर्भवतीहरुलाई टेलिफोन गर्नेछन्।

 नगरपालिकाका १६ वटा वडामा २० वटा स्वास्थ्य केन्द्रहरू छन्। सुत्केरी हुनका लागि बर्थिङ सेन्टरसम्म जान नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिएको वीरेन्द्रनगर नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख भूपेन्द्रदेव गिरी बताउनु भयो।