अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मानिस र पृथ्वीको भविष्य रक्षाका लागि मिलेर काम गरौँ: प्रधानमन्त्री ओली 

मानिस र पृथ्वीको भविष्य रक्षाका लागि मिलेर काम गरौँ: प्रधानमन्त्री ओली 


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मानव समुदायको रक्षाका लागि विश्वले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ।
संयुक्त राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा आयोजित एन्टिमाइक्रोबियल प्रतिरोधसम्बन्धी उच्चस्तरीय बैठकमा बोल्दै ओलीले मानव र पृथ्वीको स्वास्थ्यको रक्षा विश्वको साझा दायित्व भएको बताउनुभयो। ‘मानिस र पृथ्वीको भविष्य रक्षा गर्न हामी मिलेर काम गरौँ, कसैलाई नछोडी’, ओलीले भन्नुभयो।

अहिले एन्टिमाइक्रोबियल प्रतिरोध एक महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक स्वास्थ्य मुद्दाको रूपमा देखा ओलीले परेको बताउनुभयो। नेपालको राष्ट्रिय स्वास्थ्य नीतिले पनि एन्टिबायोटिकको प्रयोगलाई प्रभावकारी रूपमा नियमन र नियन्त्रण गर्ने आवश्यकतालाई जोड दिँदै यसलाई प्रमुख जनस्वास्थ्य मुद्दाका रूपमा प्राथमिकता दिएको ओलीले जानकारी दिनुभयो।

नेपालले एएमआरमा राष्ट्रिय कार्य योजना तयार गरेका र स्पष्ट दिशा प्रदान गर्न राष्ट्रिय एन्टिबायोटिक्स उपचार दिशानिर्देशहरू प्रस्तुत गरेको ओलीले बताउनुभयो। ‘यद्यपि, एएमआरद्वारा उत्पन्न खतराहरूसँग लड्नका लागि राष्ट्रिय प्रयासहरू मात्रै अपर्याप्त छन्, तसर्थ, नेपालले बलियो सहयोगी विश्वव्यापी प्रतिक्रियाको लागि आह्वान गर्दछ’, ओलीले भन्नभयो।

यसकोलागि स्वास्थ्य पूर्वाधार, अनुसन्धान र विकासमा पर्याप्त लगानी गर्नुपर्ने उहाँको राय छ। साथै हामीले जैविक खेती जस्ता दिगो कृषि अभ्यासहरूलाई अगाडि बढाइ स्वास्थ्य जीवनशैलीलाई बढावा दिनुपर्ने उहाँले बताउनुभयो। जसबाट खाद्य सुरक्षालाई सुरक्षित गर्नुका साथसाथै वातावरणको रक्षा गर्न सकिनेमा उहाँले जोड दिनुभयो।

सबै क्षेत्रमा एन्टिमाइक्रोबियलको प्रयोगलाई निगरानी गर्न बलियो नियामक ढाँचा र निगरानी प्रणालीको तत्काल आवश्यकता ओलीले औँल्याउनुभयो । साथै नयाँ एन्टिबायोटिक, वैकल्पिक उपचार र नवीन समाधानको विकासका लागि बलियो अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको ओलीले स्पष्ट पार्नुभयो।

यसलाई नियन्त्रण गर्न सन्तुलित पोषण र स्वच्छ वातावरणको साथ प्राकृतिक स्वास्थ्य हेरचाह दृष्टिकोणलाई बढावा दिनुपर्ने ओलीको धारणा छ। ‘यो दृष्टिकोणले सङ्क्रमण रोक्न र एन्टिबायोटिकको आवश्यकता कम गर्न मद्दत गर्दछ, एन्टिमाइक्रोबियल प्रतिरोधको विरुद्ध लडाइँलाई समर्थन गर्दछ’, उहाँले भन्नुभयो।

नेपाली जनताको समग्र स्वास्थ्य प्रवर्द्धन गर्न नेपालले निरोगी नेपाल–स्वस्थ नेपालको दर्शन विकास गरेको पनि उहाँले जानकारी दिनुभयो। ‘हाम्रा प्रयासहरू एन्टिबायोटिकको प्रयोग कम गर्न र स्वस्थ, अधिक दिगो भविष्यलाई बढावा दिन निर्देशित छन्’, ओलीले भन्नुभयो।