अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छैटौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने

छैटौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने


काठमाडौं-छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन आगामी मङ्सिर १२ गतेदेखि १५ गतेसम्म काठमाडौँमा हुने भएको छ। त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको आयोजनामा आगामी २७-३० नोभेम्बर २०२४ (१२–१५ मंसिर २०८१) मा सम्मेलन काठमाडौंमा हुने भएको हो।

सो कार्यक्रममा संसारभरिका ५० देशका करिब ८०० प्रतिनिधिको सहभागिता हुने विभागले जनाएकाे छ। सम्मेलनमा एसियाका विभिन्न देशका जनसङ्ख्या विज्ञहरूले १७ वटा विषयवस्तुमा आधारित भएर करिब ४०० भन्दा बढी कार्यपत्रहरू प्रस्तुत गर्नेछन्।

त्रिवि केन्द्रीय जनसङ्ख्या तथा तथ्याङ्क विभागका प्रमुख प्राडा योगेन्द्रबहादुर गुरुङले चार दिनसम्म चल्ने काठमाडौं सम्मेलनमा एसियाली मुलुकका जनसङ्ख्याविद्को तर्फबाट १७ विषयमा आधारित ४०० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो।

विभागका प्रमुख गुरुङले सम्मेलनबाट प्राप्त निष्कर्षले नेपालको जनसाङ्ख्यिक समस्या, पहिचान र सुझावसहितको नीति निर्मातालाई भविष्यको जनसंख्या सम्बन्धी नीति तथा कानुन निर्माणमा सहयोग पुग्ने बताउनु भयो। साथै,नेपालका लागि यो सम्मेलन वर्तमान जनसाङ्ख्यिक सङ्क्रमण र जनसङ्ख्या र विकासमा यसको भावी प्रभाव अन्तर्राष्ट्रिय समुदायलाई अन्वेषण गर्ने र उनीहरूका अनुभवबाट सिक्ने अवसरको रूपमा लिएको गुरुङले औँल्याउनु भयो।

त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक उद्धव सिग्देलले सम्मेलन नेपालको जनसङ्ख्या र विकासका मुद्दाहरूलाई उठान गर्ने एउटा अवसरको रूपमा रहेको औँल्याउनु भयो। साथै, सम्मेलनले आगामी जनसङ्ख्या नीतिको कार्यदिशा निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सिग्देलले बताउनु भयो।

नेपाल जनसंख्या संघका अध्यक्ष पद्म प्रसाद खतिवडाले छैठौं एसियाली जनसंख्या सम्मेलन अहिलेको अवस्थामा हुनुलाई हामीले अवसरको रुपमा लिनुपर्ने बताउनु भयो। अध्यक्ष खतिवडाले सम्मेलनले जनसंख्या व्यवस्थापनमा देखिएका हाल चुनौती समाधान गर्न प्रभावकारी भूमिका खेल्ने विश्वस व्यक्त गर्नुभयो।

चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिए‌को छ। सम्मेलनमा सहभागी हुने हरेक व्यक्तिले दर्ता शुल्क अनिवार्य रुपमा तिर्नुपर्ने, दर्ता शुल्क ७ हजार, १० हजार र १३ हजार कायम गरिएको छ।