अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो


कैलाली- विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन्। सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो ।

टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन्। हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उहाँले आजभोलि खासै गहना लगाउनुहुँदैन। 'विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो', उहाँले भन्नुभयो, 'तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै देखिन्छन्।”

घरमा सुरक्षा नभएर भएका गहना पनि अधिकांश महिलाले बैंकको लकरमा गहना राखेका छन्। अधिकांश महिला बजारमा पाइने नक्कली गहनामा सजिने गरेका छन्। एकपटक लगाएको गहना तथा पहिरन फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा हालिसकेपछि पुनःलगाउन लगाउन नचाहेर पनि गहना मोह घटेको हुनसक्ने बताइन्छ।

जोशीपुरकी सविना श्रेष्ठलाई गहना लगाउन असाध्यै मनपर्छ। हरेक पर्वमा गहनामा सजिन मन पराउने सविनालाई आजभोलि सामाजिक सञ्जालले गाह्रो भएको छ। एकपटक लगाएको गहनाको फोटो खिचिसकेको र फेसबुक, टिकटकमा हालिसकेपछि अर्को पटक लगाउन मन लाग्दैन। 'गहना जस्तो कुरा पटकपटक किन्न सकिन्न, सुनको मूल्य डेढ लाख बढी पुगेको छ', उहाँले भन्नुभयो, 'त्यसैले बजारमा पाइने नक्कली गहना किन्यो, लगायो सहज भएको छ।'

गहना धेरै लगाउँदा सुरक्षा जोखिमसँगै नहुने महिलाले असमानता महसुस गर्छन्। सबै समान देखिएमा समाजमा पनि शान्ति स्थापना हुन्छ। शिक्षक रुपा साउँद गहना सम्पत्ति भए पनि गहनाले सुरक्षा चुनौती बढाउने बताउनुहुन्छ। “गहना धेरै लगाउनु खासै राम्रो पनि होइन, महिलाले सामान्य एकसरो गहना लगाएको राम्रो देखिन्छ, त्यसले अन्यलाई समस्या पनि हुँदैन”, उहाँ भन्नुहुन्छ, 'तडकभडक नगरेको राम्रो हो। तर पछिल्लो समय हरेक पर्व नयाँ पहिरन लगाउने चलनले पनि खर्च बढाएको छ। खर्च कसरी कम गर्ने भन्नेबारेमा ध्यान दिनुपर्छ।'

सुनचाँदी व्यवसायी प्रविण साहु विगतमा जस्तो सुनचादीको कारोबार नरहेको बताउनुहुन्छ। “सुनको मूल्य बढेकाले पनि व्यवसायमा असर परेको छ। अर्कोतर्फ गहना अत्यावश्यक भएकाले मात्र लगाउने गर्नाले मर्मतको काम पनि घटेको छ', उहाँले भन्नुभयो, 'सुनचाँदी व्यवसायमा ५० प्रतिशत गिरावट आएको छ।'