अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछाने पक्राउबारे सभामुखलाई गराइयो जानकारी

रवि लामिछाने पक्राउबारे सभामुखलाई गराइयो जानकारी


काठमाडौं-सभामुख देवराज घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउसम्बन्धी पक्राउ गरेको जानकारी गराइएको छ।

संसद सचिवालयले चितवन क्षेत्र-२ बाट निर्वाचिन सांसद रवि लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरिएको जानकारी गराएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ।

नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘संघीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ’ भनी उल्लेख छ।

संंसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै भनेका छन्, ‘नेपालको संविधानको धारा १०३ को उपधारा (६) बमोजिम जानकारी गराइएको भन्नेसमेत व्यहोराको जिल्ला प्रहरी कार्यालय कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाको प.सं. २०८१/०८२ च.नं. ७०२७ मिति २०८१/०७/०२ गतेको पत्रबाट सम्माननीय सभामुखज्यूलाई लेखी आएकोले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (२) को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ।’

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (२) मा बैठक नचलेको अवस्थामा उपनियम (१) बमोजिमको सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचना पाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउने उल्लेख छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।