अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अपराध अनुसन्धानमा पार्टीको कुरा गर्नुहुँदैन, हरेक व्यक्तिले राज्यलाई सघाउनु पर्छ: माधव ढुङ्गेल

अपराध अनुसन्धानमा पार्टीको कुरा गर्नुहुँदैन, हरेक व्यक्तिले राज्यलाई सघाउनु पर्छ: माधव ढुङ्गेल


काठमाडौं-नेकपा एमाले संगठन विभागका सचिव माधव ढुङ्गेलले अपराध अनुसन्धानको काममा सबैले सघाउनु पर्ने बताउनुभएको छ।

सहकारी ठगी प्रकरणमा संसदीय विशेष समितिले दोषी ठहर गरी कारबाहीको लागि सिफारिस गरेको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएकोमा सो पार्टीले विरोध जनाउनु कानुनी शासनको अवज्ञा भएको ढुङ्गेलले बताउनुभयो। अपराध अनुसन्धानको विषयलाई राजनीतिक रङ्ग लगाउनु नहुने ढुङ्गेलको धारणा छ । ‘अपराध अनुसन्धानमा पार्टीको कुरा गर्नु हुन्न, हरेक व्यक्तिले राज्यलाई सघाउनु पर्छ’, ढुङ्गेलले भन्नुभयो ।

सहकारी ठगी प्रकरणमा रवि लामिछाने बाहेक ६ सय ४० जना प्रहरी हिरासतमा गई सकेका उहाँले स्मरण गराउनुभयो । ‘एमाले, कांग्रेस र माओवादी वा अरू कुनै पार्टीका कार्यकर्ता र समर्थक हुन सक्छन्’, उहाँले भन्नुभयो । 

ढुङ्गेलले लामिछाने निर्दोष भए अदालतबाट सफाइ पाउने बताउनुभयो । रवि माथि अहेले आरोप मात्र लागेकोले निरपराध प्रमाणित भएर निस्कन ढुङ्गेलले आग्रह गर्नुभयो। ‘आरोप अपराध होइन, आरोपलाई तथ्यले प्रमाणित गर्‍यो भने मात्र अपराध हुन्छ’, ढुङ्गेलले भन्नुभयो ।

ढुङ्गेलले रवि र उहाँका समर्थकलाई आन्दोलन होइन तथ्यले निर्दोष प्रमाणित हुन चुनौती दिनुभयो। ‘रविजी तपाईँ नारा, जुलुस र प्रदर्शन गरेर होइन तथ्यले नै निर्दोष प्रमाणित हुनुहोस्, शुभकामना’,  ढुङ्गेलले भन्नुभयो ।