अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको १०० दिन: राजनीतिक स्थिरता र अर्थतन्त्रलाई चलायमान बनाउने

सरकारको १०० दिन: राजनीतिक स्थिरता र अर्थतन्त्रलाई चलायमान बनाउने


काठमाडौं-संसद्का दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर गठन भएको वर्तमान सरकारले आज एक सय दिन पूरा गरेको छ। राजनीतिक स्थिरता, आर्थिक सुधार र सुशासन स्थापनाको महत्वपूर्ण लक्ष्यसहित दुई ठूला दल मिलेर बनेको यस सरकारले विगत तीन महिनामा उल्लेखनीय प्रगति हासिल गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा असार ३० गते गठन भएको सरकारले नागरिकमा देखिएको निराशालाई आशामा बदल्ने प्रयास गरिरहेको छ। प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारले राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने महत्वपूर्ण लक्ष्यहरूर लिएको छ।

सरकार गठनसँगै देशको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव देखिएको छ। विशेषगरी सेयर बजारमा देखिएको उत्साह यसको प्रमाण हो । सरकारले अर्थतन्त्र सुधारका लागि विभिन्न नीतिगत सुधारहरू गरेको छ। गत असार १७ गते भएको सातबुँदे सहमति अनुसार सरकारले अर्थतन्त्र सुधार, परराष्ट्र सम्बन्धमा सुधार र नागरिक सेवा प्रवाहमा क्रमिक सुधार गर्दै आएको छ।

प्रशासनिक सुधारको क्षेत्रमा सरकारले महत्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग र मन्त्रीहरूले सचिवहरूसँग कार्यसम्पादन सम्झौता गरी सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास गरेका छन्। यस कदमले सरकारी कामकाजमा पारदर्शिता र जवाफदेहिता बढाएको छ।

विपद् व्यवस्थापनको क्षेत्रमा पनि सरकारले सक्रिय भूमिका निर्वाह गरेको छ। देशका विभिन्न जिल्लाहरूमा हालै आएको बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि सरकारले स्थानीय तहसँग समन्वय गरी काम गरिरहेको छ। दीर्घकालीन पुनर्निर्माणको योजना पनि तयार पारेको छ।

सरकार गठनका बेला एमाले र कांग्रेसले राजनीतिक स्थायित्वका लागि संविधान संशोधनमा राष्ट्रिय सहमति निर्माण गर्ने सहमति गरेका छन्। यस प्रक्रियालाई अघि बढाउन दुवै दलका शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेको छ।

विपक्षी दलहरूले सरकारको काम कारबाहीमा आलोचना गरिरहे पनि सरकारले आफ्ना नीति तथा कार्यक्रमहरू निरन्तर अघि बढाइरहेको छ। आगामी दिनमा थप सुधारका कार्यक्रमहरू ल्याउने सरकारको तयारी छ।

विशेषगरी आर्थिक विकास, रोजगारी सिर्जना र सामाजिक न्यायका क्षेत्रमा नयाँ कार्यक्रमहरू ल्याउने मन्त्रीहरुले आफ्नो सय दिनको उपलब्धिमा दाबी गरेका छन्।

दुई प्रमुख राजनीतिक दलको सहकार्यमा बनेको यस सरकारले आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएको छ । पहिलो सय दिनको अनुभवलाई आधार मानी सरकारले आफ्ना कार्यक्रमहरूलाई थप परिष्कृत गर्दै लैजाने योजना बनाएको छ । यसले मुलुकमा स्थायी शान्ति, समृद्धि र विकासको नयाँ युग सुरु हुने विश्वास गरिएको छ।