अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थतन्त्र सुधारका लागि सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको छ: प्रधानमन्त्री ओली

अर्थतन्त्र सुधारका लागि सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र सुधारका लागि सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिनुभएको छ।

नेकपा एमाले निकट उद्योगी व्यापारीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको अवधारणापत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिनुभएको हो। उहाँले अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीले पनि उत्पादन तथा उत्पादकत्व वृद्धिमा आफ्नो ठाउँबाट काम गर्नुपर्ने धारणा पनि राख्नुभयो। उहाँले संगठनका अगुवाको व्यवसाय र उत्पादन तथा व्यवहार आदर्शयुक्त हुनुपर्ने बताउनुभयो।

महासंघले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ। एमालेको जनसंगठन रहेको महासंघका संयोजक भगीरथ सापकोटा र महासचिव बालकृष्ण शिवाकोटीसहितको प्रतिनिधिमण्डलले ‘सुद‍ृढ अर्थतन्त्र निर्माणको आधारः सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ को लक्ष्य लिइएको सुझावपत्र सोमवार प्रधानमन्त्री ओलीलाई बुझाएको हो।

महासंघले गत भदौ ७ गते निजी क्षेत्रका समस्या र समाधानका विषयमा आयोजना गरेको छलफल कार्यक्रमबाट आएका निचोड र उद्योगी व्यवसायीले भोगिरहेका समस्या तथा समाधानका उपायलाई अवधारणापत्रमा समावेश गरेको छ।

सुझावपत्रमा अहिले देशको अर्थतन्त्रका साथै उद्योगी व्यवसायीहरु जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्नेमा जोड दिइएको छ।