काठमाडौँ-गृहमन्त्री रमेश लेखकले चाडपर्वको सामाजिकसँगै मानवीय महत्व रहेको बताउनुभएको छ।
‘पर्वत चन्द्रागिरि समाज’द्वारा दिपावली, नेपाल संवत र छठ पर्वको अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री लेखकले चाडपर्वले परिवार र समाजलाई जोड्ने काम गरेको उल्लेख गर्नुभयो।
'कामका कारण मानिस टाढा टाढा हुनुपर्छ, चाडपर्व नमनाए परिवारमा दूरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो। चाडपर्वले मानिसलाई नजिक ल्याउँछ। यसको समाजिकसँगै मानवीय पनि महत्व छ”, उहाँले भन्नुभयो।
एउटा परिस्कृत समाज निर्माणका लागि चाडपर्व जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले चाडपर्वको अवसरमा जमघट र भेलामा उपस्थित हुने कुराको आफैंमा ठूलो महत्व रहेको बताउनुभयो। “हाम्रा ऋषिमुनीहरुले धेरै ठूलो अध्यापन र अनुभवपछि यी पर्वहरुको निर्माण गर्नुभएको हो”, उहाँले भन्नुभयो।
प्रतिक्रिया