अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेलाई म्याद थप्न आज अदालत लगिँदै

रवि लामिछानेलाई म्याद थप्न आज अदालत लगिँदै


पोखरा-सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिने भएको हो।

गत कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एकसाथ अनुसन्धान गरिरहेको छ। कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई कास्की प्रहरीले अदालतबाट पाएको म्याद कात्तिक १४ गते नै सकिएको भए पनि तिहार बिदाका कारण हिरासतमै राखिएको छ।

यसैबीच, लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न रूपन्देही प्रहरीले बुटवल ल्याउने तयारी थालेको छ। रूपन्देही प्रहरीले आज म्याद थप नभएको अवस्थामा आजै र म्याद थप भएमा छठ पर्वपछि बुटवल ल्याउने तयारी गरेको हो।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ गर्न अनुमति दिएको थियो।