पोखरा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालत पेस गरिएकाे छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति लामिछानेलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिएको हो।
सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीसहित लीला पछाइ र रामबहादुर खनाललाई पनि म्याद थपको लागि केही बेर अगाडी जिल्ला अदालत कास्कीतर्फ लगिएको थियो ।
गत कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एकसाथ अनुसन्धान गरिरहेको छ। कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई कास्की प्रहरीले अदालतबाट पाएको म्याद कात्तिक १४ गते नै सकिएको भए पनि तिहार बिदाका कारण हिरासतमै राखिएको छ।
यसैबीच, लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न रूपन्देही प्रहरीले बुटवल ल्याउने तयारी थालेको छ। रूपन्देही प्रहरीले आज म्याद थप नभएको अवस्थामा आजै र म्याद थप भएमा छठ पर्वपछि बुटवल ल्याउने तयारी गरेको हो।
बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ गर्न अनुमति दिएको थियो।
प्रतिक्रिया