काठमाडौं-गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री राजिब गुरूङ ‘दीपक मनाङे’लाई ५ वर्षको जेल सजाय सुनाइएको छ। सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा गुण्डा नाइके चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर गरेको हो।
मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यसअघि उच्चले गरेको फैसला सदर गरेको हो। उच्च अदालत पाटनले यसअघि उनलाई दोषी ठहर गर्दै ५ वर्ष कैदको सजाय सुनाएको थियो। सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।
यो विवादमा मनाङे २०७५ साल पुसमा थुनामा समेत बसेका थिए। मनाङेको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो । मनाङेले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ६ गते धरौटी राखेर उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो । त्यसपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए।
२०६१ सालमा दीपक मनाङे उर्फ राजीव गुरुङको गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो। पछि शिक्षण अस्पतालमा चक्रेको हात जोडिएको थियो ।
ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङेमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको थियो । तर जिल्ला अदालतले सामान्य कुटपिट मात्रै भएको भन्दै मनाङेलाई २ वर्ष कैद सजाय सुनायो।
तर जिल्ला अदालतको फैसला चित्त नबुझेपछि सरकारवादी उक्त मुद्दा पुनरावेदन अदालत पाटनमा दायर भयो । पुनरावेदनले जिल्ला अदालतको फैसलामा केही उल्टी गर्दै ज्यान मार्ने उद्योग अन्तर्गत मनाङेलाई ५ वर्षको जेल सजाय तोक्यो भने मनाङेसँगै अन्य आरोपितलाई सफाइ दियो ।
प्रतिक्रिया