काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक सुरक्षाको सवाल विश्वव्यापी चासोको रुपमा रहेको बताउनु भएको छ। साउदी अरबको राजधानी रियादमा भएको सडक सुरक्षा सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर बुधबार साँझ नेपाल फर्कनु भएका मन्त्री दाहालले सडक संरचनाहरुको सुरक्षा र संरचनाहरुको सुरक्षित उपयोग विश्वव्यापी सरोकार बनेको बताउनु भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको विशिष्ट कक्षमा कुराकानीका क्रममा उहाँले नेपालको सडक, सुरक्षा र भौगोलिक अवस्थाका बारेमा सम्मेलन मार्फत विश्व समुदायको ध्यानाकर्षण गराइएको पनि बताउनुभयो।
विश्वव्यापी चुनौती बनिरहेको जलवायु परिवर्तन, यसका असर र प्रभावका कारण समेत सडक सुरक्षामा चुनौती बढाइरहेको आफुले संवोधनका क्रममा उल्लेख गरेको मन्त्री दाहालले बताउनुभयो । साउदी भ्रमणका क्रममा उहाँले त्यहाँका यातायात मन्त्री सालेह विन नासिरि अल साजेरसँग समेत भेटवार्ता गर्नुभयो। त्यस भेटमा दुई देश बीच सडक एवम पूर्वाधार निर्माणका विषयमा हुन सक्ने सहकार्यका बारेमा कुराकानी भएको जनाइएको छ। उहाँले साउदीको सडक प्राधिकरणले संयोजन गरेको सडक सुरक्षा सम्वन्धिको प्रविधि, परीक्षण, पूर्वाधार लगायतका बारेमा स्थलगत अवलोकन समेत गर्नु भएको थियो।
मन्त्री दाहाललाई प्रवाशी नेपाली मञ्चले स्वागत अभिनन्दन गरेको थियो भने साउदी अरवमा नेपाली श्रमिकका अवसर र चुनौती विषयक अन्तरक्रियालाई उहाँले संवोधन पनि गर्नु भयो। त्यहाँ स्थित नेपाली राजदूतावासले गरेको कार्यक्रममा कार्यवाहक राजदूत डम्बरुबल्लव पौडेल, नेपाली समुदायका विभिन्न संघ, संस्था तथा सरोकारवाला निकायहरुका प्रतिनिधीहरुको सहभागीता रहेको थियो। साउदी अरवको झापाली समाजका अध्यक्ष रविन गिरी, हेल्प मधेशी साउदीका अध्यक्ष श्यामकुमार महतो, सिर्जना समाजका अध्यक्ष दिपक रेग्मी, जनजाती महासंघका विज्ञान राई, जितेन्द्र थपलिया लगायतले साउदीमा रहेका नेपालीहरुको अवस्था, सम्भावना, चुनौती लगायतका बारेमा धारणा राख्नु भएको थियो।
यस्तै साऊदी एकता समाजका नविन मुडवरी, प्रवासी नेपाली संघका अध्यक्ष अमर श्रेष्ठ,नेपाली जनसम्पर्क समाजका अध्यक्ष द्वारिका गिरी र गैरआवासिय नेपाली संघका ध्रुव नेपालले साऊदीमा रहेका नेपालीहरुले भोग्नु परेका समस्या राख्दै नेपाल सरकारलाई विभिन्न बिषयमा सुझाव राख्नु भएको थियो। वक्ताहरुको सुझाव पछि मन्त्री दाहालले प्राप्त सुझाव कार्यान्वयनमा प्राथमिकता दिने बताउनुभयो । यस्तै बेमौषममा गएका बाढी र पहिरोले अपेक्षित क्षती गरेको भन्दै त्यसको पुननिर्माणका लागि सरकारले गरि रहेको प्रयास र योजनाका बारेमा पनि प्रष्ट्याउनु भएको थियो।
इन्टरनेशनल रोड फेडेरेशन आईआरएफ ग्लोवल र साउदी अरवको यातायात मन्त्रालयले आयोजना गरेको सम्मेलनमा मन्त्री दाहालका सल्लाहकार हर्कराज राई, सुचना प्रविधि विज्ञ मनोज दाहाल समेत सहभागी हुनु भएको थियो ।
प्रतिक्रिया