चीन (जेङ्सु–चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा दोस्रो ग्लोबल साउथ थिन्क ट्यांक्स डाइलग शुरू भएको छ। समारोहमा विश्वका एक सयभन्दा बढी मुलुकका राजनीतिज्ञ तथा बौद्धिक व्यक्तिहरूको सहभागिता रहेको छ।
ग्लोबल साउथ देशहरूका समस्यालाई सामूहिक मुकाबिला गर्दै सहअस्तित्व, समावेशी र समानता प्राप्तिको विश्वव्यापी अभियानलाई थप सुदृढ बनाउन यस्तो कार्यक्रमको आयोजना भएको हो।
कार्यक्रमको “मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि” विषयक सत्रमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा नेपालका पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरलले मतभिन्नता र तनाव चरम बिन्दुमा पुगेको वर्तमान समयमा ग्लोबल साउथ मुलुकहरु थप एकताबद्ध भएर सामूहिक हित र मानव समद्धिका लागि लाग्नुपर्ने बताउनुभयो।
विश्वको ८५ प्रतिशत जनसंख्या ओगटेको ग्लोबल साउथका जनताको जिडिपिमा ४० प्रतिशत मात्र हिस्सा रहेको वर्तमान अवस्थालाई परिवर्तन गरेर गरिबको क्षमता विकासमा सामूहिक योगदान आवश्यकता रहेको उहाँले बताउनुभयो।
वरिष्ठ उपाध्यक्ष पोखरेलले मानवीय समान विकासका लागि विश्वका विभिन्न सभ्यताको आदान–प्रदान आवश्यक रहेको चर्चा गर्दै यसले सबै सभ्यतालाई थप विकास गर्न सघाउने धारणा व्यक्त गनुभयो । सभ्यताको अनुभव आदान–प्रदानले विश्वका सबै मुलुकलाई आपसी समझदारी बढाउन, असमझदारी घटाउन र शान्ति तथा सुखमा ठूलो योगदान दिन सघाउने उल्लेख गर्दै उहाँले सभ्यताको आदान–प्रदानले नै मानव समाज आजको विकसित र वैज्ञानिक युगमा पुगेको स्मरण गराउनुभयो।
उहाँले नेपालमा रहेका प्राकृतिक श्रोतहरुलाई समग्र मानव विकासको हितमा प्रयोग गर्न ग्लोबल साउथका बुद्धिजीवीहरूले अध्ययन, अनुसन्धान तथा प्रचार गरेर सघाउन आग्रह गर्नुभयो।
नेपालको जनविद्युत, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न ग्लोबल साउथका देशहरूले उपयुक्त सहजीकरण गरेमा नेपालका प्राकृृतिक स्रोतलाई ग्लोबल साउथका जनताहरुको समृद्धिका लागि उपयोग गर्न सकिने उहाँले बताउनुभयो।
हिमाल र इतिहास साक्षी रहेको चीन र नेपालको सदियौं देखिको समस्यारहित सम्बन्धलाई थप सुदृढ बनाउन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर तेस्रो हप्ता हुने चीन भ्रमण थप ऐतिहासिक र उपलब्धिमुलक हुने उहाँले बिश्वास ब्यक्त गर्नुभयो ।
उहाँले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सरकार अग्रसर रहेको र यसमा चीन लगायतका मित्रराष्टको महत्वपूर्ण सहयोग हुने आशा व्यक्त गर्नुभयो।
समारोहको उद्घाटन सत्रमा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागमा मन्त्री ल्यु च्याङ्गचाओ, नेपालको राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे, चिनियाँ कम्युनिष्ट पार्टी ज्याङसु कमिटीका सचिव तथा ज्याङसु प्रदेश सरकार स्थायी कमिटीका अध्यक्ष छिन चाङसिन, क्यूवाको निका लोपिज युनिभर्सिटीका अध्यक्ष हुर्टाडो परेज, संयुक्त सेचेल्सका अध्यक्ष पत्रिक हेर्मनी लगायत बिभिन्न देशका पदाधिकारी तथा प्रतिनिधिहरुले सम्बोधन गर्नुभएको थियो।
चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा एमालेको पन्ध्र सदस्यीय प्रतिनिधि मण्डल अहिले चीन भ्रमणमा छ।
भ्रमण टोलीमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य शान्ति ढकाल, सम्झना देवकोटा, सरिता भुषाल, सल्लाहकार परिषद् सदस्य टंकप्रसाद बराल, निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारी, मधेश प्रदेश उपसचिव मोहम्मद कैस, विदेश विभाग सदस्य डा. दिपेन्द्र श्रेष्ठ, प्रचार विभाग सदस्य दीपक ज्ञवाली,नेपाल जनजाती महासंघका केन्द्रिय सदस्य रोशनी मेचे, गौरीगञ्ज नगरपालिकाका उपाध्यक्ष पुजन न्यौपाने, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका कार्यकारी प्रमुख आशिष जोशी रेग्मी सहभागि हुनुहुन्छ।
योगदान गर्न दृढ ःउपाध्यक्ष घिमिरे
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपालको राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले ग्लोबल साउथको साझा विकासका लागि आधार तयार भइरहेकोमा खुसी व्यक्त गर्नु भयो।
शक्ति एकताबाट जन्मिने चर्चा गर्दै उहाँले समृद्ध ग्लोबल साउथ निर्माण गर्न सबैको योगदान जरुरी रहेको उल्लेख गर्नुभयो। ग्लोबल साउथको सदस्यका हैसियतले नेपाल विश्वव्यापी समानता र बिकासको स्तर बृद्धिका लागि योगदान गर्न दृढ रहेको उहाँले बताउनुभयो।
उपाध्यक्ष घिमिरेले भविष्यमा के गर्ने भन्ने विश्वव्यापी चिन्ता रहेको उल्लेख गर्दै अबको मार्ग पहिल्याउन ग्लोबल साउथ सक्षम हुने विश्वास व्यक्त गर्नुभयो।
चीनको बिकासबाट आफू गहिरो प्रभावित भएको चर्चा गर्दै उहाँले नेपाल एक चीन नीतिप्रति दृढ भएको दोहो¥याउनुभयो।
प्रतिक्रिया