काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गर्नुभएको छ। प्रधानमन्त्री ओलीले आज बिहान धरहरा परिसरमा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गर्नुभएको हो ।
कार्यक्रममा प्रतियोगितामा सहभागी हुने आठ वटा टिमका मार्की खेलाडीहरूको पनि उपस्थिति रहेको थियो। प्रधानमन्त्री ओलीले कार्यक्रममा बोल्दै एनपीएलले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले ट्रफीको विशेषता बारे जानकारी दिँदै यसमा सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा प्रयोग गरिएको बताउनुभयो । उहाँका अनुसार यो ट्रफीले विश्वलाई हिमाल संरक्षणको सन्देशसमेत दिनेछ ।
मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा आयोजना हुने एनपीएलको पहिलो संस्करणमा काठमाडौं गुर्खाज, विराटनगर किङ्ग, जनकपुर बोल्ट, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टिमहरू सहभागी हुनेछन्।
प्रतिक्रिया