काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर विमानबाट चीन प्रस्थान गर्नुभएको हो।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीन,सुरक्षा निकायका प्रमुखलगायतले विदाइ गरेका थिए।
भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा .आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सङ्घीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू,सञ्चारकर्मीलगायत ८७ छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। सोही द्विपक्षीय वार्तामा दुई मुलुकबीचका एजेन्डाहरूमा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षर हुनेछन् । प्रधानमन्त्री ओलीले मंगलबारै चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। उनले चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै,उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्नेछन्। बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने छन्। भ्रमणको चौथो दिन बिहीबार नेपाल फर्किने कार्यक्रम छ।
प्रतिक्रिया