अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेइजिङमा सीपीसीका विदेश मामिला उपमन्त्रीद्वारा प्रधानमन्त्री ओलीलाई स्वागत

बेइजिङमा सीपीसीका विदेश मामिला उपमन्त्रीद्वारा प्रधानमन्त्री ओलीलाई स्वागत


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि चिनियाँ उपमन्त्री सुन बेइदोङका साथै नेपाली दूतावासका अधिकारीहरू पनि विमानस्थल पुग्नुभएको थियो।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर विमानबाट चीन जानुभएको त्यहाँको स्थानीय समय अनुसार साढे ६ बजे बेइजिङ पुग्नभएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गर्नुभएको थियो। यसैगरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिसमेत प्रधानमन्त्री ओलीको बिदाइका लागि विमानस्थल पुग्नुभएको थियो।

भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा .आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सङ्घीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू,सञ्चारकर्मी गरी ८७ जना जानु भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। सोही द्विपक्षीय वार्तामा दुई मुलुकबीचका एजेन्डाहरूमा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षर हुनेछन्। प्रधानमन्त्री ओलीले मंगलबारै चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। उहाँले चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।