काठमाडौँ-निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने निर्णय गरेको छ।
आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति जारी गर्दै मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने बताउनु भएको छ। यसअघि गत मंसिर १५ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरिएको थियो। निर्वाचन सम्पन्न भइ परिणाम समेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको छ।
साथै कुनै व्यक्ति पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको भएपनि निजले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाणसहित आयोगको वेबसाईटमा रहेको प्रि(रजिष्ट्रेशन प्रणाली (https;|/applyvr.election.gov.np) मार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।
मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्नुका साथै नागरिकतामा उल्लेखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्नको लागि नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र समेत आयोगको उल्लिखित प्रणालीमा प्रविष्ट गर्नुपर्ने जनाएको छ।
प्रतिक्रिया