झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको बताउनु भएको छ। प्रधानमन्त्री ओली केही समयपछि भारत भ्रमण पनि जानुहुने जानकारी गराउनु भयाे।
झापाको दमक नगरपालिका-३, दापगाछीस्थित ‘दमक व्यापारिक कम्प्लेक्स’को उद्घाटन गर्दै साे कुरा बताउनुभएको हो।
‘हामी देश बनाउँछौं । कर्णालीमा पुल बन्ने भएको छ। चीन भ्रमणबाट अरु थुप्रै कुराहरू भएका छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब मान्छेहरूले पत्याएका छैनन् होला, म केही समयपछि भारत भ्रमणमा पनि जान्छु।’
प्रधानमन्त्री ओलीले चार दिने चीन भ्रमणबाट बिहीबार स्वदेश फर्किनु भएको हो। उहाँको चीन भ्रमणका क्रममा बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ।
मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु.एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो। यसअघि प्रधानमन्त्री ओलीले झापाको मेचीनगर नगरपालिका-४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गर्नुभएको थियाे। कार्यक्रममा आश्रमका लागि दुई बिगाहा पाँच कठ्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो।
भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी हुनुहुन्छ।
प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन आजै गृहजिल्ला आउनु भएको हो। प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गर्नुभएको थियो।
प्रतिक्रिया