काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जलवायु परिवर्तनको प्रभावबाट विश्वलाई जोगाउनु पर्ने बताउनुभएको छ।
फिलिपिन्सको मनीलामा जारी ‘वातावरणीय दिगो यातायात सम्बन्धी १६औं उच्च स्तरीय एसियाली क्षेत्रीय सम्मेलन’लाई मङ्गलवार सम्बोधनका क्रममा उहाँले नेपालले समेत बेमौसमी वर्षा र बाढीका कारण ठूलो नोक्सानी व्यहोनु परेको बताउनुभयो।
स्वच्छ ऊर्जाको उपयोगलाई प्रोत्साहन गरी विश्वव्यापी प्रदूषण नियन्त्रणमा लाग्नु अहिलेको आवश्यकता रहेकोमा उहाँको जोड थियो।
दिगो विकासको लक्ष्यका लागि सहरी गतिशीलता, कार्बन उत्सर्जनमा न्यूनीकरण एवम् पर्यावरणमैत्री सहरहरूको विकास र सशक्तीकरण लगायतका सम्बन्धमा उक्त सम्मेलनमा छलफल हुने जनाइएको छ। सम्मेलनमा विभिन्न राष्ट्रका मन्त्री एवम् प्रतिनिधिहरुले आआफ्नो देशमा भई रहेका अभ्यास, चुनौती एवम् समाधानका उपायहरूका बारेमा धारणा राख्ने र विभिन्न सत्रहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको प्रस्तुति एवम् छलफलको कार्यक्रम रहेको छ।
सम्मेलनका क्रममा हुने दिगो लक्ष्यको वायु प्रदूषण सम्बन्धी लक्ष्यमा केन्द्रित रहने शत्रको अध्यक्षता समेत नेपालका तर्फबाट मन्त्री दाहालले गर्ने कार्यपालिका रहेको छ। मन्त्रालयका तर्फबाट मन्त्री दाहालसँगै उहाँका सल्लाहकार हर्कराज राई समेत कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन समेत सहभागी हुनुहुन्छ। कार्यक्रम संयुक्त राष्ट्रसंघ, आर्थिक तथा सामाजिक मामिला विभाग, संयुक्त राष्ट्रसंघ क्षेत्रीय विकास केन्द्र, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक लगायतका निकायहरुको आयोजनामा भएको हो।
चार दिन चल्ने कार्यक्रममा सहभागी भएर मन्त्री दाहाल सहितको टोली आगामी २८ गते साँझ नेपाल फर्कने छ।
प्रतिक्रिया