काठमाडौँ-नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीको अब हुने ११औं महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ।
पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुने बताउनु भएको हो।
अन्य पदहरूमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा निर्वाचनको कुनै सम्भावना नदेखिएको पौडेलको भनाइ छ। एमालेको १० औं महाधिवेशन २०७८ मंसिरमा चितवनमा भएको थियो। त्यसबेला भीम रावललाई हराउँदै ओली अध्यक्ष निर्वाचित हुनुभएको हुनुभएको थियो।
‘अब हुने नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुनेछ,’ उहाँले भन्नुभएको छ, ‘अन्य पदहरूमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा, अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन।’
अध्यक्ष ओलीले एमालेलाई मात्र नभई सिङगो राष्ट्रलाई योग्यतापूर्वक नेतृत्व गरिरहेको दाबी गर्नुभयो। ‘एमालेलाई मात्र होइन, सिङ्गो राष्ट्रलाई सफल नेतृत्व प्रदान गर्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध कसैले उम्मेदवारी दिन्छ भन्ने मलाई लाग्दैन। उहाँको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता नेकपा (एमाले) मा छैन।’ उहाँले भन्नुभयो।
नेतृत्व भनेको रहरको विषय नभई यो त इतिहास, योगदान, क्षमता र राष्ट्र तथा अन्तराष्ट्रमा स्वीकार्यताको विषय पनि भएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘म स्पष्ट भाषामा भन्न चाहन्छु, एघारौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिका साथ उहाँ नै अध्यक्षमा निर्वाचित हुनुहुन्छ। यस विषयमा कोही पनि द्विविधामा रहन आवश्यक छैन।’
उपाध्यक्ष पौडेलले एमालेभित्र नीति र नेतृत्वको प्रश्नमा कुनै मतभेद नरहेको बताउनु भयो । उहाँले अध्यक्ष ओलीलाई ‘वैधानिक व्यवस्था अनुरूपको निर्वाचित अध्यक्ष मात्र होइन, समस्त पार्टी पङ्क्तिको विश्वास जितेको आस्थाको अध्यक्ष’ का रूपमा चित्रित गरेका छन् ।
‘पछिल्लो दशकमा हाम्रो पार्टीले उपलब्धि र चुनौतीका जे-जस्ता श्रृङ्खला पारगर्दै आजको यो ठाउँसम्म आइपुगेको छ,’ उहाँले भन्नुभयो, ‘उहाँको दूरदृष्टियुक्त, सुझबुझपूर्ण र साहसिक नेतृत्व नभएको भए त्यो सम्भव हुने थिएन।’
उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) को बीचमा कायम भएको राजनीतिक सहयात्रा निश्चित ध्येय र उद्देश्यमा आधारित रहेको पनि बताउनु भयो।
राजनीतिक स्थायित्वको बलमा संविधानको रक्षा र विकास, सबै प्रकारका अतिवाद र अस्थिरताका प्रवृत्तिहरूको अन्त्य, सामाजिक न्यायसहितको विकास र समृद्धि यो सहयात्राको मूख्य उद्देश्य रहेको उपप्रधानमन्त्रीसमेत रहेका पौडेलले बताउनुभयो।
प्रतिक्रिया