काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा पुग्नुभएको छ।जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा पुग्नुभएको हो।
प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गर्नुभयो।
आज र भोलि दुई दिन जिल्लास्थित भवन उद्घाटन तथा शिलान्यास, खानेपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण तथा पार्टी गतिविधिसँग सम्बन्धित कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले जानकारी दिनुभयो।
प्रधानमन्त्री ओलीले आजै मेचीनगर-४ स्थित मानव सेवा आश्रम भवनको उद्घाटन तथा शिलान्यास र दमक-३, दापगाछीस्थित व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो।
यसैगरी, भोलि सोमबार बिहान १० बजे बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन, ११ बजे गौरादह नगरपालिकाअन्तर्गत महारानीझोडामा जग्गाधनी पुर्जा वितरण र दिउँसो १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।
मेचीनगरको मानव सेवा आश्रम उद्घाटन, शिलान्यासबाहेक अन्य सबै कार्यक्रम उहाँको निर्वाचन क्षेत्रभित्र पर्ने एमाले जिल्ला अध्यक्ष गिरीले जानकारी दिनुभयो।
त्यस्तै, एमाले अध्यक्ष समेत रहेका ओलीले सोमबार दिउँसो २ बजे बिर्तामोडस्थित सिटीसेन्टरमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पार्टी जिल्ला सचिव तुलसी कार्कीले बताउनु भयो। प्रधानमन्त्री ओलीको झापा भ्रमणलाई सफल र फलदायी बनाउने सन्दर्भमा नेपाली काँग्रेस र एमालेबीच यसअघि भएको छलफलमा आवश्यक तयारीसहित जिल्ला स्तरीय योजना तथा कार्यक्रम प्रधानमन्त्रीसमक्ष पेस गर्ने सहमति भएको अध्यक्ष गिरीले जानकारी दिनुभयो।
प्रतिक्रिया