अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार ढल्नेकुरा काग कराए जस्तै होः सञ्चारमन्त्री गुरुङ

वर्तमान सरकार ढल्नेकुरा काग कराए जस्तै होः सञ्चारमन्त्री गुरुङ


काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार ढल्छ भन्नु काग कराएजस्तै भएको टिप्पणी गर्नुभएको छ।

पुस ७ गते सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै जाने दाबी गर्नुभयो।

सञ्चारमन्त्री गुरुङले अहिलेको सरकार बनेको मन नपराउनेहरुले नै सरकार ढल्ने भ्रम फैल्याएको बताउनु भयो। उहाँले राष्ट्रिय संकट निवारणका दुई राजनीतिक दलबीच सहमति भएकाले सरकार २०८४ सम्मै टिक्ने दाबी गर्नुभयो।

सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘सरकार बनेको दिनदेखि यो सरकार ढल्दैन र यो सरकार ढल्छ भन्ने दुईवटा कुरा चलिरहेको छ। सबै पार्टीले छोडेर गए पनि दुई ठूला राजनीतिक दलहरु मिलेका छौँ।  त्यसैले यो सरकार ढल्दैन। किनभने १६७ सिट त हुन्छ। तेस्रो, चौथो पार्टीलाई गुहारिराख्न परेन। काग त कराउँदै गर्छ, पिना सुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ। यो यस्तै हो। सरकार गिर्छ, सरकार गिर्छ भनेको काग कराए जस्तै हो। यो सरकार २०८४ सम्म जान्छ।’

सञ्चारमन्त्री गुरुङले  गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्नुभयो। नेपालमा अस्थिरता ल्याउन चाहने शक्तिहरूले सरकारको उद्देश्य बिथोल्न जनतामा भ्रम छर्दै गरेको बताउँदै हुँदै उहाँले त्यस्ता भ्रममा नपरी वर्तमान सरकारप्रति विश्वस्त हुन जनतासमक्ष आग्रह गर्नुभयो।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भन्नुभयो, ‘सरकार फेरिन्छ भनेर तपाईँहरूलाई धेरै भ्रम फैलाइएको छ। त्यसैले तपाईहरु भ्रममा नपर्नु होला। अहिलेको गठबन्धन सरकार तीनै वर्ष चल्छ।’