काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले उदयपुरको रौतामाई गाउँपालिका वडा-६ स्थित पर्यटकीय धार्मिक स्थल रौता पोखरीको अवलोकन गर्नुभएको छ।
उपमेयर डंगोलले कोशी प्रदेशकै उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थल आज रौता पोखरीको अवलोकन गर्नुभएको हो।
उपमेयर डंगोललाई रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्र कुमार मगर, वडा अध्यक्षहरू, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरूले भब्य स्वागत गरेका थिए।
रौता पोखरीको धार्मिक तथा पर्यटकीय विकासका लागि थप योजना बनाउन सकिने सम्भावना रहेको उपमेयर डंगोले बताउनु भयो।
रौता पोखरी उदयपुर मात्र नभएर कोशी प्रदेश कै पर्यटन विकासको प्रचुर सम्भावना रहेको पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थल हो। रौता पोखरी कोशी प्रदेशका १४ वटै जिल्लाका पर्यटकीय गन्तव्यमध्ये अति सम्भावना बोकेको स्थल हो। सदरमुकाम गाईघाटदेखि ४९ किलोमिटर उत्तरमा पर्ने रौतापोखरी समुद्री सतहदेखि १ हजार नौ सय मिटरको उचाइमा अवस्थित छ। चिसो र स्वच्छ हावापानी, सुन्दर र मनोरम जङ्गलबिचमा बाह्रै मास पानी जमिरहने सफा र सुन्दर पोखरी र पोखरी छेउमा रौतामाई देवीको मन्दिर छ। पोखरीको उत्तरतर्फ मनोरम हिमशृङ्खला, दक्षिण, पश्चिम र पूर्वतिर टाढा टाढाका सहर बजार देख्न सकिने ठाउँ भएकाले दृष्यास्वादनका लागि पनि पर्यटकहरू यो ठाउँ आउने गर्छन्।
पर्यटकीय मात्र नभएर धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण मानिएको यो ठाउँमा घुमफिर गर्न, पुनताजगी लिन, पुजा आराधना र भक्ति भाव गर्न आन्तरिक पर्यटक र भक्तजनको रोजाइको केन्द्र बन्दै गएको छ।
रौतामाई मन्दिरमा बाह्रै महीना पूजा आराधना गरिन्छ। तर, बली दिने पूजाआजा भने विशेष गरी माघ महिना भरी हुन्छ। माघ भरी भने पाठी र परेवा बली दिने दर्शनार्थीको बाक्लो घुँईचो लाग्ने गर्दछ। माघ १ देखि अन्तिम सम्म भक्तजनहरू पोखरीमा नुहाएर रौतामाई मन्दिरको पूजा गरी पाठी र परेवाको बली दिने गर्दछन्। सफा पोखरीको चिसो पानीमा नुहाएर पूजा आराधना गरी मन्दिरमा बली चढाउँदा रोगव्याधी हट्नुका साथै सबै खाले मनोकामना पुरा हुने परम्परागत मान्यता रहिआएको छ।
सडक सुविधा पुगिसकेको हुनाले गाईघाट, कटारी, बेलटार, रामपुर र मुर्कुचीबाट सबै दिन जसो आन्तरिक पर्यटकहरू रौतापोखरीको अवलोकन र दर्शन गर्न पुग्छन् । गाईघाटदेखि साउने, रानीबाससम्म २५ किलोमिटर गाईघाट–दिक्तेल सगरमाथा लोक मार्ग पक्की भइसकेको छ। रानीबासदेखि खाँबु डहरसम्मको ९ किलोमिटर खण्ड पनि पक्की भइसकेको छ भने डहरदेखि रौतापोखरीसम्मको १५ किलोमिटर खण्ड भने कच्ची सडक रहेको छ।
प्रतिक्रिया