काठमाडौं-गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभएको छ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरुबारेको छलफल कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले भन्नुभयो, ‘हामी विपद् जोखिमको उच्च जोखिममा छौँ। हाम्रो भुगोल पनि विपद्को जोखिमकै स्थितिमा छ। कतिपय प्राकृतिक जोखिम छन्, कतिपय मानव निर्मित जोखिम छन्। धेरै ज्यादा जोखिमको अवस्थामा हामी रहेका छौँ। त्यसो भएको हुनाले यसलाई न्यूनीकरण गर्नका निमित्त हामी सबै मिलेर मात्रै सम्भव छ।’
गृहमन्त्री लेखकले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो। उहाँले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको औंल्याउनुभयो। उहाँले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्नुहुँदै सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्न आवश्यक रहेको जानकारी दिनुभयो।
गृहमन्त्री लेखकले समुदाय र वडामा रहेका विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो। उहाँले समुदायलाई बलियो नबनाएसम्म विपद् जोखिम न्यूनीकरण गर्न नसकिने जानकारी दिनुभयो । उहाँले समयमै पूर्वसूचना प्राप्त भए जोखिम न्यूनीकरणका लागि सहयोगी हुने बताउनुभयो।
प्रतिक्रिया