काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधारहरुलाई पर्यटनमैत्री बनाएर आर्थिक समृद्धिको आधारको रूपमा विकास गरिनुपर्ने बताउनु भएको छ।
बुधवार तनहुँको बन्दीपुरमा ‘बन्दीपुर भ्रमण वर्ष’को अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले पूर्वाधारहरूको बहुउपयोगीलाई ध्यान दिनुपर्ने समेत बताउनुभयो। ग्रामीण तथा आन्तरिक पर्यटनका गन्तव्यहरूमा पूर्वाधारहरूको विकास गरी बाह्य पर्यटकहरूलाई समेत आकर्षित गराउन सकिने उहाँले बताउनुभयो। पर्यटकीय स्थलहरूसम्म पुग्ने सडक तथा संरचनाहरूको निर्माण, मर्मत तथा पुन:निर्माणमा मन्त्रालयले प्राथमिकता दिने भन्दै उहाँले नेपाली पर्यटनको विश्वव्यापी प्रचार र प्रवर्द्धनमा जुट्नु पर्ने समेत बताउनुभयो।
पर्यटन मार्फत हस्तकला, परम्परागत सीप, संस्कृति, संगीत, खाद्य परिकार, पहिरन, लगायतको समेत व्यवसायीकरण गराउन सकिने भन्दै मन्त्री दाहालले पर्यटन प्रवद्र्धन मार्फत स्वरोजगारी सिर्जना गर्न सकिने तर्फ पनि ध्यान दिनुपर्ने मन्त्री दाहालले बताउनु भयो।
नेपालका हिमाल, नदी, वनजंगल, पर्यावरण, धार्मिक तथा सांस्कृतिक गन्तव्य र सम्पदाहरु बाह्य पर्यटकहरुको रोजाईमा पर्ने गरेपनि नेपालका ग्रामीण क्षेत्रका रहेका विविधताहरु पनि पर्यटनकै माध्यमबाट थप प्रवद्र्धन गर्न सकिने उहाँले उल्लेख गर्नुभयो।
तीनै तहका सरकारहरुले पर्यटन, पर्यटकीय क्षेत्र तथा गन्तव्यहरुको विकास र प्रवद्र्धनमा जोड दिनु पर्ने भन्दै उहाँले नेपालको पर्यटन विदेशी मुद्रा आर्जनको भरपर्दो विकल्प रहेको पनि बताउनुभयो। पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको समेत उत्साहजनक सहभागीता र लगानी भई रहेको भन्दै मन्त्री दाहालले नेपालमा अवसर छैन भन्दै विदेशीने युवाहरुलाई स्वदेशमानै सम्भावनाको खोजी गर्न समेत आग्रह गर्नुभयो।
राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले बन्दीपुर नेपालको मौलिक र ग्रामिण पर्यटनको आकर्षक गन्तव्य रहेको बताउनुभयो। यहाँको पर्यटनलाई प्रवद्र्धन गरि आर्थिक विकासको आधारका रुपमा विकास गर्न सकिने सम्भावना रहेकाले तीनै तहका सरकारले यस तर्फ ध्यान दिनुपर्ने बताउनुभयो।
स्थानीय सरकार, उद्योगी व्यवसायी, पर्यटन व्यवसायी एवम् विभिन्न क्षेत्रको सहकार्यमा भ्रमण वर्ष विशेष कार्यक्रम उद्घाटन हुनु अघि विभिन्न झाँकीहरु प्रदर्शन गरिएको थियो।
प्रतिक्रिया